काठमाडौं–अवैध मानव तस्करको प्रलोभनमा परेर अमेरिका जान प्रयास गरिरहेका १७६ नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा अलपत्र परेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ब्राजिलस्थित नेपाली दूतावासको पहलमा उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास भइरहेको बताएका छन् । दूतावासले अलपत्र परेकाहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

विगतमा ब्राजिल पुगेका विदेशी नागरिकले राजनीतिक शरणार्थीको निवेदन दिएपछि त्यहाँ बस्न अनुमति पाउने गर्थे‚ तर हालै ब्राजिल सरकारले यो व्यवस्था खारेज गरेपछि नेपालीहरू विमानस्थलमै अलपत्र परेका हुन् । प्रवक्ता राईले ब्राजिलका सरोकारवाला निकायसँग परामर्श भइरहेको र उनीहरूलाई स्वदेश फिर्ता पठाउने वा अन्य विकल्पबारे छलफल भइरहेको जानकारी दिए ।

दक्षिण अमेरिकाका मुलुकहरू हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्न मानिसहरू जाने प्रवृत्ति बढेकाले यस्तो समस्या उत्पन्न भएको हो । नेपाली दूतावासले यस समस्याबारे ध्यानाकर्षण भएको र आफ्ना नागरिकलाई मानवीय सहायताका लागि आवश्यक पहल गरिरहेको स्पष्ट पारेको छ ।