काठमाडौं–कालीकोट खण्डमा पर्ने कर्णाली राजमार्ग बुधबार राति पहिरो जाँदा पुन: अवरुद्ध भएको छ । हिजो दिउँसोबाट परेको भीषण वर्षाले शुभकालिका १ गगनेखोलामा ठूलो पहिरो गएपछि बेलुका ८:३० बजेबाट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोले कालीकोट खण्ड बन्द हुँदा यात्रुहरूलाई ठूलो समस्या भएको छ । सुर्खेतबाट गएका यातायातका साधन गगनेखोलामै रोकिएका छन्‚ जसकारण कालीकोट सदरमुकाम मान्ममा अन्य जिल्ला र स्थानमा जाने यात्रुहरू अलपत्र परेका छन् ।

OM Sai Pathibhara Hospital

पहिरो गगनेखोलासँगै हुल्मबजार‚ एसमोड‚ दहिखोला लगायतका क्षेत्रमा पनि गएको छ‚ जसले गर्दा कर्णाली करिडोरको रेगिल‚ फुगाढ लगायतका ठाउँमा पनि सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख‚ प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराका अनुसार‚ गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।