काठमाडौं–गत जेठ २८ गतेदेखि निरन्तर भइरहेको अविरल वर्षाले देशभर बाढी र पहिरोबाट २१० जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा ३‚ कोशी प्रदेशमा २९‚ मधेश प्रदेशमा ८‚ बागमती प्रदेशमा ४६‚ गण्डकी प्रदेशमा ५६‚ लुम्बिनी प्रदेशमा ३८‚ कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जनाको मृत्यु भएको हो । 

यस विपद्का कारण २७२ जना घाइते भएका छन्‚ जसलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको छ । साथै‚ २१५ जनाको उद्दार गरिएको छ भने ५२ जना अझै वेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ । 

बाढी र पहिरोले गर्दा देशभर ४०८ घर डुबानमा परेका छन् भने ३६५ घर‚ १२६ गोठ‚ ५३ पुल‚ ७ विद्यालय‚ र २ सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै‚ ९७२ पशु चौपायाको मृत्यु भएको छ । यस विपद्का कारण ६ हजार ४९ परिवार विस्थापित भएका छन्‚ जसले ठूलो मानवीय संकट उत्पन्न गरेको छ ।