काठमाडौं–धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सीखोला थुनिएको थियो ।

आज बिहानदेखि खोला बग्न थालेको छ । वडाध्यक्ष गौतम शेरचनका अनुसार‚ हिउँपहिरोले बोक्सीखोलालाई पूरै थुनिएको थियो र अहिले खोलामा पानीको मात्रा बढिरहेको छ ।

OM Sai Pathibhara Hospital

तटीय क्षेत्रमा नौवटा घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले मानवीय र भौतिक क्षति गरेको छैन । बोक्सीखोलामा हिउँ पहिरो पुन: थपिएको हुँदा पग्लन समय लाग्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको जनाएका छन् ।

अघिल्लो वर्षको हिमपहिरोले थासाङ गाउँपालिका–२ कोवाङमा एक सय ५० चौँरीगाई मरेको थियो । यसपटक भने कुनै ठूलो क्षतिको खबर नआएको जिल्ला प्रशासनले जनाएको छ ।