सोलुखुम्बु- सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।
गत साउन २६ गते थामेमा हिमताल फुटेर बाढी आउँदा फसेका स्थानीयको उद्धारमा खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आज पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् ।
उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा भूमिका निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
‘बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो’, उनले भने ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमपहिरोले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूणर् र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो ।
९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढाको दुरीमा रहेको छ ।