काठमाडौं । आफ्नो माग पूरा नभएपछि सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । 

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै दवाबमूलक बृहत्त सडक आन्दोलनको घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्नुपरेको जनाएको छ । 

सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन सुरु गर्ने महासंघका अध्यक्ष कुशलव केसीले बताए । 

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । 

तत्कालिन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब उनले तत्काल राजीनामा दिनुपर्ने बताए । 

मन्त्री अधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ । ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । बलराम अधिकारीज्यूले आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने पदबाट विदा हुँदा नै राम्रो हुन्छ,’ उनले भने ‘उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ । अब हामी सहेर बस्न सक्दैनौं’ । 

सहकारी पीडितहरु पछिल्ला १६ महिना यता चरणवद्ध आन्दोलनमा रहेका छन् । यस अवाधिमा सरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको उनीहरुको गुनासो छ ।