काठमाडौं–वर्षापछि आएको पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण बिहानैदेखि सडक अवरुद्ध भएको हो । नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो ।

यस्तै, डुम्रे–बेँसीसहर–चामे सडक पनि बन्द भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान आवातजावत गर्ने सवारीसाधनसँगै यात्रु अलपत्रमा परेका छन् ।