काठमाडौं–नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको इजरायलले कोटा बढाएको छ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाइएको हो ।

अब एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने इजरायलले जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको हो ।

OM Sai Pathibhara Hospital

वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ । विभागका अनुसार आवेदन माग गर्दा छनोट हुने पाँच सय उम्मेदवार र तीन सय वैकल्पिक गरी आठ सय नेपाली श्रमिक इजरायल जान पाउने छन् ।

वैदेशिक रोजगार विभागले हाल माग गरिएको आवेदनबाटै थप गरिएको सङ्ख्या छनोट गरिने जनाएको छ । विभागका अनुसार वैकल्पिकसहित आठ सय जनाका लागि गरिएको आवेदनमा हालसम्म तीन हजारभन्दा बढीको आवेदन आइसकेको छ । तिनै आवेदकमध्येबाट दुई हजार जना छनोट हुनेछन् । आवेदन दिने समय साउन ११ गते शुक्रबारसम्म तोकिएको छ ।