काठमाडौं— लगातारको वर्षापछि देशभकार विभिन्न सडकखण्ड अवरुद्ध हुँदा आवातजावतसँगै खाद्यान्न ढुवानीमा समस्या भएको छ । 

लामो समय राख्न मिल्ने सामानको व्यवस्थापन भए पनि तरकारीको भने अभाव चुलिएको छ । काठमाडौं उपत्यकामा उत्पादित तरकारीले बजारको माग धान्न नसकेपछि काठमाडौंमा तरकारीको अभाव बढ्न थालेको छ । सँगै भएका तरकारीको मूल्य पनि आकासिएको छ । 

OM Sai Pathibhara Hospital

उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् । लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान नपाएका हुन् । 

बुधबार साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए । 

देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने बताउँछन् । 

कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भान्सामा समेत साउन १ देखि तरकारी पाकेको छैन । उनका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेका छन् तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन । त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो । 

राष्ट्रिय कृषक महासङ्घका अनुसार तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी सङ्कलन र ढुवानीमा समस्या भइरहेको छ । 

भाउ बढ्यो

पछिल्लो १५ दिनदेखि तरकारीको भाउ बढेको छ । १५ दिनपहिले प्रतिकेजी २५ रुपियाँ रहेको बन्दा आज ५० रुपियाँ थोकमा पुगेको छ । गोलभेँडा प्रतिकेजी ८० बाट १२० रुपियाँ, काउली स्थानीय एक सयबाट १२५ रुपियाँ, तने बोडी ५० बाट १२० रुपियाँ थोकमा कारोबार भएको छ । 

यस्तै घिउसिमी ७० बाट १६० रुपियाँ, तितेकरेला ५० बाट एक सय रुपियाँ, लौका ५० बाट एक सय रुपियाँ, घिरौला प्रतिकेजी ५० बाट १२० रुपियाँ, फर्सी हरियो प्रतिकेजी ४० रुपियाँबाट एक सय रुपियाँ, पाकेको फर्सी प्रतिकेजी ४५ बाट ७० रुपियाँ, कुरिलो प्रतिकेजी २५० बाट पाँच रुपियाँ, च्याउ कन्य प्रतिकेजी एक सयबाट १८० रुपियाँ र च्याउ डल्ले १५० बाट ३५० रुपियाँ थोकमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।