काठमाडौं— अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदबाट सोमवार दिउँसोसम्म ११३ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन्। यस अवधिमा विपदका घटनाबाट ३ हजार ६३० घर परिवार विस्थापित भएका छन्।
नेपाल प्रहरीका अनुसार बाढी, पहिरोलगायत विपदमा काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा ११३ जनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा ११९ जना घाइते भएका छन्।
कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ।
बाढी पहिरोमा कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी छ।
बाढीका कारण देशभरि १८२ घर डुबानमा परेका छन्। २०५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५३९ वटा पशु चौपाया मरेका छन् ।
बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्नमा समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाइरहेको छ।