काठमाडौं— यतिबेला सबैतिर चर्चाको विषय छ सेटिङको । हुन पनि राजनीतिक संरक्षणले ठूला मुद्दादेखि चलखेलमा सेटिङ भएका प्रशस्त उदाहरण भेटिन्छन्। 

पहुँचकै आधारमा भएका सहकारीको रकम अपचलनदेखि भुटानी शरणार्थी प्रकरणसँगै गिरीबन्धु टीस्टेटका विषय पछिल्लो पटक धेरै चर्चामा आएका हुन् । 

OM Sai Pathibhara Hospital

गैरकानूनी काम गर्ने मानिसलाई सुधार गर्न सजाय स्वरुप जेल पठाइन्छ । जेल बसेपछि उसको आचरणमा सुधारको अपेक्षा हुने गरेको छ । तर त्यही जेलभित्र हुने सेटिङले अनेकौ प्रश्न उठाउने गरेको छ । जेल भित्रै छुटाउँछु भन्दै पैसा लिने र छुट्नका लागि पैसा दिनेसम्मका घटना भएका छन् । 

सुन्दा कहानी जस्तो लाग्ने घटना छ काठमाडौंको डिल्लीबजार जेलमा । जेल परिसरभित्र मर्निङ वाकमा थिए केदारप्रसाद गौतम । हिँडिरहेको बेला केदारको 'कुम' अर्का कैदीसँग ठोक्कियो । त्यसपछि उनीहरूको चिनजान भयो । अर्का कैदी थिए दीपकप्रसाद चौलागाईं । रामेछापको दोरम्बा–५ का ।

केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो केलाए, उनको ससुराली गौतम रहेछन् । अनि बन्यो जुवाइँ जेठूको सम्बन्ध ।

यसरी नजिकिएका थिए सर्लाहीको रानीगञ्ज घर भएका केदारप्रसाद गौतम र दोरम्बा घर भएका ५० वर्षीय दीपक । यो २०७८ भदौको कुनै एक बिहानको कुरा थियो । दुवैको कारागार बसाइमा एउटा समानता भेटिन्छ– बैंकिङ कसुर । कसुर एउटै हो तर फरक–फरक घटनामा, सजाय पनि फरक ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर ११ दिन कैद १५ लाख जरिवाना सुनाइएपछि कैद भुक्तानका लागि कारागार आइपुगेको दीपकले केदारलाई बताए । त्यसपछि केदारले पनि बैंकिङ कसुरमै आफूलाई ५ वर्ष कैद सुनाइएको बेलीविस्तार लगाए । तर कैद भुक्तान गरेको भने ६ वर्ष भइसकेको थियो ।

२०७२ असारदेखि केदार कारागारमै थिए । ५ वर्ष कैद तोकिएको तर ६ वर्षसम्म जेलमै रहेको सुनाएपछि दीपकले थप सोधखोज गरे । कारण खुल्यो करिब ३३ करोड बिगो बुझाउन नसक्दा कैदमै बस्नु परेको ।

कैद बसेको ११ दिनमै छुटेर जाने दीपकले योजना सुनाए– बिगोको बन्दोबस्त म मिलाउँछु । अब कारागारबाट निस्कनुपर्छ । ३३ करोड बिगो तिर्न नसके पनि जायजेथा धरौटी राखेर निस्कन मिल्ने र त्यसका लागि केही रकम खर्च गर्नुपर्ने बताएपछि केदार तयार भए ।

अनुसन्धानका क्रममा दीपकले विश्वास दिलाउनकै लागि केदारलाई भाइटीका लगाउन आफ्नी श्रीमती रीताकुमारी चौलागाईंलाई समेत पठाएको खुलेको छ ।

२०७८ सालको तिहारमा भाइटीका लगाउन भन्दै दीपकले श्रीमती रीतालाई पठाएका थिए । श्रीमती रीताले समेत यो कुरा स्वीकार गरेकी छिन् । 

त्यतिबेला आफ्ना श्रीमान् दीपकसँग केही कामको कुरा भइरहेको भन्नेबारे केदारले बताए पनि आफूले के काम भनेर सोधीखोजी नगरेकाले आफूलाई केही थाहा नभएको रीताको भनाइ छ । 

भाइटीका समेत लगाएर विश्वास दिलाएपछि जेलमै बनेको योजना अनुसार दीपकले बाहिर निस्केर केदारका आफन्त लेखराज गौतम र श्रीमती सम्झना गौतमलाई भेटे ।

धरौटीका लागि जग्गा राख्ने बताउँदै एक हप्तापछि कुरा गर्ने भनेर दीपक र लेखराज छुट्टिए । जग्गा मिलाएको भन्दै केदारसँग सुरुमा १५ लाख रुपैयाँ दीपकले मागे । केदारको घर गएर उनकी श्रीमती सम्झनामार्फत बलराम दंगाल नाम गरेको मानिसको १५ लाखको चेक दीपकले बुझे । यद्यपि उक्त चेक आफूले लेखराज गौतमलाई दिएको दाबी गरेका छन् ।

१५ लाख लिएको केही समयपछि फेरि सिन्धुपाल्चोकमा २२० रोपनी जग्गा मिलेको छ । लालपुर्जा समेत छ भन्दै आफूलाई म्यासेन्जरमा लेखराजले पठाएको दीपकले बताएका छन् । उक्त जग्गाको लालपुर्जा देखाएर फेरि केदारबाट २० लाख रुपैयाँ दीपकको समूहले लियो । केदारले निर्मला गौतम मार्फत २० लाखको चेक दिएका थिए ।

यद्यपि यो चेक पनि साटेर लेखराज गौतमको नबिल बैंक लिमिटेडको खातामा जम्मा गरेको दाबी दीपकले प्रहरीसमक्ष गरेका छन् ।

दीपकले पैसा जति सबै लेखराजलाई दिएको दाबी गरेका उनै लेखराजको यही बीचमा मृत्यु हुन पुग्यो । ३५ लाख रुपैयाँ केदारबाट लिइसकेपछि कोरोनाका कारण लेखराजको मृत्यु भएपछि अर्का व्यक्ति जोडिए मीनबहादुर बस्नेत ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।

मीनबहादुरले कारागारमै गएर केदारलाई भेटेर काम हुनेमा ढुक्क हुन भन्दै विश्वास दिलाए । थप जग्गा जुटाएर निकाल्ने काममा मीनबहादुरको औपचारिक प्रवेश भयो ।

त्यसपछि मीनबहादुरले सिन्धुपाल्चोककै थप जग्गाहरू खोजी गरिसकेको भन्दै लालपुर्जा समेत लिएर डिल्लीबजार कारागार पुग्छन् । केदारलाई निवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउन लगाउँछन् ।

काम अघि बढेको भन्दै २१ साउन २०७८ मा लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको चुणकुमार गौतमको नाममा खाता रहेको चेक मार्फत ५० लाख यो समूहले लगेको पीडित पक्षको दाबी छ ।

केदारले नै भने अनुसार आफूले पटक–पटक दीपकलाई ५० लाख दिएको भन्दै बयान दिएका छन् । सुरज लामाले पनि दुई पटक गरेर २५ लाख दीपकलाई दिएको बताएका छन् ।

अब काम अघि बढेको भन्दै केदार मार्फत विभिन्न व्यक्तिबाट पटक पटक गरी अहिलेसम्म २ करोड १५ लाख रुपैयाँ यो समूहले लिन्छ । तर काम हुनुको साटो उनीहरू सम्पर्कविहीन हुन्छन् ।

२ करोड १५ लाख तिर्दा पनि अहिलेसम्म बाबु कारागारमै रहेपछि उनका छोरा सिद्धार्थले प्रहरी वृत्त नयाँबानेश्वरमा १ जेठ २०८१ मा ठगीको जाहेरी दिएका थिए । १४ जेठमा काठमाडौंबाट दीपक र उनकी श्रीमती रीतालाई पक्राउ गरिएको नयाँबानेश्वर वृत्तका इन्स्पेक्टर सुशोभन श्रेष्ठले बताए । मीनबहादुर भने अहिलेसम्म फरार छन् ।

बैंकिङ कसुरमा दोषी ठहर भएका केदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले समेत मुद्दा दायर गरेका छन् । केदार सहित ८ जनालाई अभियुक्त बनाउँदै अख्तियारले ९ मंसिर २०७६ मा मुद्दा दायर गरेको थियो ।

सरकारी सम्पत्ति हिनामिना गरी लाभ लिएको भन्दै करिब ३४ करोड मागदाबी सहित मुद्दा दायर भएको थियो ।

यसैगरी गत चैतमा मात्रै केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले पनि मुद्दा दायर गरेको छ । ८ वर्ष लामो अनुसन्धान सकेर ५ चैत २०८० मा केदार विरुद्ध सम्पत्ति शुद्धीकरणले ३४ करोड ६९ लाख ४१ हजार बिगो कायम गर्दै मुद्दा दायर गरेको छ । यी दुवै मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन् ।