काठमाडौँ / मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट औपचारिक रूपमै अप्रेसनमा आएको छ । सन् २०१६ अप्रिलदेखि औपचारिक रूपमा निर्माण कार्य सुरु भए पनि विमानस्थल ६ वर्षपछि सञ्चालनमा आएको हो ।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङसँग ५ वर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी नागरिक उड्डयन प्राधिकरणले २०१६ अप्रिलमा नै सम्झौता गरेको थियो । तर, कोभिड–१९ को महामारी लगायत विविध कारणले गर्दा विमानस्थलको निर्माण कार्य थप एक वर्ष लम्बिन पुग्यो । 

OM Sai Pathibhara Hospital

चाइना एक्जिम बैंकको २२ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थल अन्ततः जनवरी १, २०२३ देखि औपचारिक रूपमै सञ्चालनमा आएको छ । जसले नेपालको हवाई उड्डयन मात्र नभएर पर्यटन क्षेत्रमा समेत नयाँ उत्साह थपेको छ ।

गत जेठ २ गतेबाटै भैरहवा गौतमबुद्ध विमानस्थल नियमित रूपमा अप्रेसनमा आइसकेको छ । त्रिभुवन विमानस्थलको विकल्पको रूपमा अघि सारिएको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल १० हजार ५ सय रोपनीमा फैलिएको छ भने ३ हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइ सहितको धावनमार्ग निर्माण गरिएको छ । 

हाल त्रिभुवन विमानस्थलबाट दैनिक ९० वटा हाराहारीमा उडान भइरहेको छ । ७३ वर्ष पुरानो विमानस्थलले आन्तरिक र बाह्य गरी अहिले पनि दैनिक ३५ हजार हाराहारीको  क्राउड लोड धानिरहेको छ