झापा / आज बिहीबार एकै दिन तीन वटा चाडपर्व परेका छन् । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व, धान्यपूर्णिमाउधौली पर्व मनाइँदैछ ।

ब्राह्मण, क्षेत्री समुदायले कुलपूजा अर्थात् गोठ पूजाको रुपमा धान्यपूर्णिमा मनाउने गर्दछन् भने नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले बिहीबार योमरी पूर्णिमाका रूपमा हर्षोल्लासका साथ मनाउँदैछन् । त्यस्तै किरात समुदायले बिहीबार उँधौली सकेला अर्थात किराँत पर्व मनाउँछन् ।

OM Sai Pathibhara Hospital

धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

किराँत समुदायले बिहीबारै उँधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खा, सुनुवार, लिम्बू, राईलगायत जातिले आफ्नो मौलिक परम्पराअनुसार यो पर्वमा आआफ्ना इष्ट देवताको पूजापाठ गरी मीठा खानेकुरा खाँदै र शुभकामना दिँदै नाचगान गर्ने गरेका छन् । किराँतीले उँधौली र उँभौलीमा प्रकृति र पितृको पूजा गर्छन् । 

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाच लगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । मङ्सिरे पूर्णिमाबाट जाडो सुरु हुने भएकाले लेकका चराचुरुङ्गी र खोलाका माछा बेंसी झर्ने भएकाले यो पर्वलाई उँधौली भनिएको हो । 

योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले पनि नव अन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् बताउँछन् ।