झापा  / सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् शुरु भएको छ । पहिलो दिन प्रतिपदा र द्वितीया तिथिका एकै दिन श्राद्ध परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 समितिका सदस्य एवं धर्मशास्त्र विद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने छ । यो वर्षको सोह्र श्राद्ध आउने ९ असोजबाट सकिनेछ । 

OM Sai Pathibhara Hospital

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने  भएकाले सोह्रश्राद्ध भनिएको हो । 

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको छ ।

यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पतिप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । 

पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिने गर्छन् ।

महत्वपूर्ण तिथि

आश्विन कृष्णपक्ष पञ्चमीको तिथिमा श्राद्ध गर्नु महत्वपूर्ण मानिन्छ, जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भनिन्छ ।

आश्विन कृष्णपक्ष नवमीका तिथिमा गरिने श्राद्धका लागि उत्तम मानिन्छ । त्यसैले यसलाई मातृ नवमी भनिन्छ । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवंगत महिलाको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।

यसैगरी, आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी तिथिका दिन परिवारका सन्यास लिएका व्यक्तिको श्राद्ध गर्ने विधान छ । आश्विन कृष्णपक्ष चतुर्दशी तिथिका दिन दुर्घटना, हत्या, आत्महत्या, शस्त्रद्वारा मृत्यु लगायत अकाल मृत्यु भएकाको श्राद्ध गरिने चलन छ ।