काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर घाटा दुई खर्ब ६८ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फागुन मसान्तमा दुई खर्ब ५८ अर्ब ६४ करोड रहेको शोधनान्तर घाटा एक महिनामा साढे नौ अर्बभन्दा माथिले बढेको हो ।

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड पुगेको थियो । फागुन र चैत महिनामा मासिक ९० अर्बभन्दा माथि आयात भए पनि त्यसले आयात धान्न पर्याप्त नहुँदा भुक्तानी सन्तुलन घाटा बढ्दै गएको हो ।

फागुन मसान्तमा चार खर्ब ६२ अर्ब ९३ करोड रहेको चालु खाता घाटा चैत मसान्तमा बढेर पाँच खर्ब १२ अर्ब ७१ करोडले पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो ।

फागुन मसान्तमा नौ अर्ब ५८ करोड डलर कायम भएको विदेशी मुद्राको सञ्चिति चैतमा सामान्य बढेर नौ अर्ब ६१ करोड डलर पुगेको छ भने फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रहेकामा चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलब ५ प्रतिशतले घटेको हो । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकमा सञ्चिति १० खर्ब २१ अर्ब ४५ करोड रहेको छ भने अन्य वित्तिय संस्था लगायत बैंकमा एक खर्ब ४६ अर्ब ४८ करोडको रहेको छ ।

०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलब ३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । माघसम्म मासिक औसत ७५ अर्बभन्दा तल रहेको रेमिट्यान्स फागुन र चैतमा ९० अर्ब नाघेको छ ।