बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१६ भत्केको वालबाट निषेधित लागूऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-६ का १७ वर्षीय बिक्की सरदार र बिराटनगर-७ का २८ वर्षीय गणेश बि. क. रहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका ४ बजे भारतबाट नेपालतर्फ आँउदै गरेका सरदारको साथबाट १५ थान नाइट्रोजन ट्याब्लेट र बि क को साथबाट डाइजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निषेधित लागूऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।