बझाङ / बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाको मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकारमय बनेका छन् । खप्तडछान्ना गाउँपालिका–१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् ।

गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोबाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । बाढीले आयोजनाको नहर र विद्युत् गृहमा क्षति भएपछि ५२ किलोवाट क्षमताको यो विद्युत् गृह बन्द छ ।

थलारा गाउँपालिका–९ का राउली, लिस्ताडा, खानी, सिरेटा, चित्रु, फकाली, मालुमेला, अफ्ला बगर, आमबगरसेलाबगरका ४ सय ९६ परिवार अन्धकारमा छन् । यो लघु जलविद्युत् २ करोड रुपैयाँ लागतमा निर्माण भएर २०७५ सालदेखि सञ्चालनमा आएको थियो । 
ती गाउँमा सञ्चालन भएका मिल बन्द हुँदा कुटानी पिसानीका लागि दिनभरि हिँडेर अर्को गाउँ पुग्नुपर्ने बाध्यता छ । उद्योग, वडा कार्यालय, विद्यालय, सहकारी, स्वास्थ्य संस्थाको सेवा पनि प्रभावित भएको छ । बिजुली नहुँदा सञ्चार सेवा समेत ठप्प भएको जलविद्युत् आयोजना व्यवस्थापन समितिका अध्यक्ष देविभक्त जोशीले जानकारी गराएका छन् ।

खप्तडछान्ना र थलारा मात्रै नभएर बझाङका ५० वटाभन्दा धेरै लघु आयोजनामा क्षति हुँदा ११ वटा गाउँपालिकाका एक सयभन्दा धेरै गाउँ अन्धकारमा रहेको तर अहिलेसम्म मर्मतको पहल नभएको स्थानीय बासिन्दाको गुनासो छ । क्षतिको यकिन विवरण नआएको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सुवेदीले बताएका छन् । केही आयोजना स्थानीय बासिन्दा आफैँले मर्मत गरेर अस्थायी रुपमा सञ्चालनमा ल्याएका छन् । बझाङमा रहेका लघु जलविद्युत् हेर्ने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्रदेश कार्यालय तीन महिनादेखि कर्मचारी विहीन छ ।

‘मोबाइल चार्ज गर्न नपाएर गाउँबाट कतै सम्पर्क गर्न समेत सकिएको छैन । विद्यार्थीहरूको पढाइ समेत बिग्रिन थालेको छ’ स्थानीय बासिन्दा वडा नम्बर ९ का अध्यक्ष मोहन राज जैशीले भने । विद्युत् आयोजना निर्माण पछि खुलेका सबै उद्योग धन्दाहरू बन्द भएका छन् । वडा कार्यालयको कामकाज पनि प्रभावित भएका छन् ।

खप्तड छान्ना गाउँपालिकाका ११ वटा विद्युत् आयोजनामा क्षति पुगेको थियो’ गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले भने  ‘केही आयोजनाहरू स्थानीयले मर्मत गरेर अस्थायी रुपमा सञ्चालन गरेको भए पनि केही सञ्चालनमा आउन सकेका छैनन्। सम्पूर्ण संरचनाहरू नै बगाएका कारण कुनै कुनै आयोजना पुनर्निर्माण गर्न पनि नसकिने अवस्था छ ।’ उनले नहर बगाएका विद्युत् आयोजनाहरुमा स्थानीयले काठ र पाइपको प्रयोग गरेर अस्थायी रुपमा सञ्चालन गरिरहेको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवर्द्धनमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था जीआई जेडका प्राविधिक सल्लाहकार महाभारत व्यास श्रेष्ठ केन्द्रको प्रदेश कार्यालयमा लामो समयदेखि कर्मचारी नआएको वताउँछन् । ‘बझाङका धेरै आयोजनामा क्षति भएको भन्ने अनौपचारिक जानकारी आएको छ तर कति वटा आयोजनामा कस्तो खालको क्षति भएको छ भन्ने यकिन तथ्याङ्क छैन’उनले भने ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बानेश्वरका राज आचार्यले पनि आधिकारिक रुपमा क्षतिको कुनै विवरण नआएको बताएका छन् । उहाँले भन्नुभयो,‘यो विषयमा जिल्ला प्रशासन कार्यालयलाई बढी जानकारी होला । हामी कहाँ आधिकारिक विवरण अहिलेसम्म आएको छैन।’