• गोपाल ढकाल , मनोविद्

सामाजिक सञ्जालको अहिलेको जमानामा सानो केही कुरा हुने बितीकै एक कान, दुई कान हुँदै मैदान हुने बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता  कुराहरू सँधै सत्य नै हुन्छन भन्ने हुँदैनयिनीहरू  झुट्टा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाण विहीन र मनगडन्ते पनि हुन सक्छन्

अफवाह फैलिदा यसबाट धनजनको ठूलो क्षति पनि हुन सक्छ । यसले समाजमा शान्ति र सदभाव पनि खलबल्याउन सक्छ । अफवाहको कारणले पुग्ने मानसिक क्षति र असर झनै भयावह र अनुमान गर्नै नसकिने पनि हुन सक्छ । अफवाह फैलिदा समाजमा डर, त्रास, भय तथा अशान्तिको वातावरण सृजना हुन्छ  । 

OM Sai Pathibhara Hospital

अफवाहले मानिसहरूमा मानसिक तनाव, डर, चिन्ताको समस्या, डिप्रेसन, मानसिक आघात, अनिन्द्राको समस्या जस्ता मानसिक रोग देखिन सक्छन्

कवि भूपि शेरचनले नेपाल हल्लै हल्लाको देश हो भन्नु भएको छ । उहाँले भने झै हाम्रो समाजमा अफवाह छिट्टै नै फैलिने गर्छ  ।

नेपालमा पनि कहिले बिबिसिले यसो भन्यो रे, कहिले फलानोले यसो भन्यो रे भनेर उसको हबला दिँदै भुइँचालो जाने, हवाई जहाज दुर्घटना हुने, औषधिमा घातक जीवाणु भेटियो भन्ने जस्ता हल्लाहरु बेला बेला सुन्नमा आउने गरेका छन ।

गतवर्ष देखि बिश्व कोरोना महामारीसँग जुझि रहेको छबिपत्तिको यस समयमा पनि विश्व भरि नै विभिन्न खालका अफवाहहरू फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरु अहिले पनि फैलिई रहेका छन ।
हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेव विरुद्ध मुद्दा समेत परेको छ ।

कोरोनाको प्रकोप भन्दा पनि गलत सूचना र अफवाहले गर्दा मानिसहरूमा अत्याधिक डर,  त्रास , भय बढाएको देखिन्छ  । अफवाह फैलिनुमा कतिपय अवस्थामा सञ्चार माध्यमहरूले पनि भूमिका देखिन्छ ।

नबुझिकन समाचार लेख्ने, समाचार ब्रेक गर्न हतार गर्ने जस्ता कार्यले अफवाह फैलिनुमा  आगोमा घिउको काम गरिरहेको हुन्छ । कोही व्यक्तिहरूले नजानिदो तरिकाले  मिडियालाई नै  प्रयोग गरेर समेत अफवाह फैलाई रहेका हुन्छन्  ।

विपत्तिको वेला अफवाहको जोखिम

बिपतिका बेला विभिन्न किसिमका अफवाहहरू  फैलिने सम्भावना हुन्छ । विपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुँदैन । यस्तो अनिश्चितकालीन अवस्थामा धेरै किसिमका कडकल बाजि तथा  अफवाहरु फैलिने जोखिम बढेर जान्छ  ।
यस्तो कठिन र अनिश्चिताको समयमा  मान्छे अतालिएको हुन्छ । डर, त्रास, तनावको कारणले गर्दा उसको सोच्ने, निर्णय लिने, सुझबुझ गर्ने क्षमतामा पनि कमि आउछ । 

यस्तो बेला कसैले कागले कान लग्यो भन्दा कान नछामी कागको पछि दौडने ब्यवहार मान्छेले देखाउन पनि सक्छ । विपत्तिको समयमा प्राय सबैमा केही न केही डर ,चिन्ता हुने गर्छ । 

आफ्नो डर चिन्तालाई लुकाउने र आफू निडर छु भन्ने देखाउनका लागि पनि ब्यक्तिले गलत कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्यान अनुसार  ब्यक्ति जति बढि चिन्तित हुन्छ उसले अफवाह फैलाउने सम्भावना अरु भन्दा उति नै बढि हुन्छ।

सधैजसो चर्चामा आईरहन चाहने ब्यक्तिहरु जस्तो  कलाकार, राजनितीज्ञहरु विपत्तिको बेला ओझेलमा पर्न सक्छन् । त्यस्ता व्यक्तिहरूले पनि विपत्तिको बेला  विभिन्न हदकण्डा प्रयोग गर्न  सक्छन् ।

सामान्य ब्यक्तिको हकमा पनि अफ्ट्यारो परिस्थितिमा उसले अरुबाट बढि नै साथ, सहयोगको अपेक्षा गर्ने गर्छ । अरुको साथ , सहयोग र सहानुभूति पाउनैका लागि कुरालाई बढि चढाई गर्ने गर्न सक्छन्

बास्तबमा किन फैलिन्छ त अफवाह ? कसैले किन अफवाह फैलाउन  चाहन्छ ? यसको मनोवैज्ञानिक कारण के के हुन सक्छन् ? यसैको बारेमा यहाँ चर्चा गरिन्छ ।

अफवाह फैलाउनुका कारणहरु यस्ता हुन सक्छन्  ।

चर्चाको भोक

हिजो आज धेरैलाई चर्चा कमाउने  , भाईरल हुने  भोक जागेको  छ ।सामाजिक संजालले मान्छेको त्यो भोकलाई थप जगाई दिएकोछ ।

मनोविज्ञानका हिसाबले पनि मान्छेहरु समाजमा आफ्नो चर्चा होस, मान सम्मान, प्रतिष्ठा बढोस भन्ने चाहन्छन् । कोही पनि गुमनाम हुन चाहदैनन् । सामाजिक संजालमा फोटो  पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस, धेरै भन्दा धेरै लाईक, सेयर र कमेन्ट होस भन्ने  सबैको चाहना  हुन्छ । 

आफ्नो यहि चाहना पूरा गर्न, आफुलाई जान्ने, बुझ्ने देखाउन, आफू महत्त्वपूर्ण भएको भान पार्न, अरुको सामु आफू नोटिस हुन, आफ्नो पहिचान बढाउन, समाजमा आफ्नो प्रतिष्ठा बढाउने उदेश्य तथा अरुको ध्यान आफुतिर खिच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा फण्डा गर्ने गरेको देखिन्छ  ।

ब्यक्तिगत फाईदा

केही व्यक्तिहरूले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम समेत बनाउने गरेको देखिन्छ  । यस्ता ब्यक्तिहरु प्राय  ठगि धन्दा चलाउने हुन्छन । आफुलाई माता, गुरु, ज्योतिषि हुँ भन्नेहरु भुकम्प जाने, अनिष्ट हुने जस्ता हल्ला चलाउने गर्दछन । उनीहरुको उदेश्य आफ्नो प्रचार गर्नु नै हुन्छ । साथै यस्तो डर त्रास देखाएर उनिहरुले मानिसहरुलाई आफ्नो पकडमा राख्न समेत खोजिरहेका हुन्छन ।

अध्यानले देखाए अनुसार विपत्तिको समयमा मानिसहरुले तथ्यमा भन्दा अन्धविश्वास र परम्परागत कुरामा बढि बिस्बास गर्न थाल्दछन ।  यस्तो बेला  मानिसहरुले अलौकिक शक्तिमाथि बढि भर गर्ने गरेको देखिन्छ । यसकारण मानिसहरु माता, बाबा, गुरु , ज्योतिषीहरुले भनेको कुरालाई सजिलै अनुसरण गर्न थाल्छन् ।

कालो बजारी गर्ने ब्यापारीहरुले भने सामान लुकाउने, कृतिम अभाव सृजना गर्ने, मंहगो मुल्यमा सामान बेच्ने उदेश्यले पनि अफवाह फैलाउने  गरेको पाईन्छ ।

हिजोआज कतिपय मिडियाहरुले  भ्युज बढाउनका लागि  ब्यक्तिगत फाईदाका उदेश्यले  पनि गलत समचारलाई स्थान दिएको  देखिन्छ ।

ब्यक्तित्ब  बिकार

समाज बिरोधि ब्यक्तित्व बिकार  भएका  ब्यक्तिहरु सदैव अरुलाई दुख दिने र अरुको दुखमा आफू रमाउने खालका हुन्छन् । यस्ता ब्यक्तिहरु चाहिदो नचाहिदो हल्ला चलाउने, समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने, हत्या, हिंसा, बलत्कार गर्न पछि नपर्ने हुन्छन । विपत्तको समयमा यस्ता ब्यक्तिहरु अझ बढि सक्रिय हुने मौका पाउँछन्  ।

आफुलाई जान्ने , बुझ्ने छु भन्ने देखाउन यस्ता व्यक्तिहरूले विभिन्न  किसिमका तर्कहरु गर्छन । यस्ता ब्यक्तिहरु एकदमै चतुर र चलाख पनि हुने गर्दछन । यस्तो किसिमको ब्यक्तित्व बिकार भएका  मानिसहरु हाम्रो समाजमा पनि धेरै हुन सक्छन्। 

रोचक कुरा त के छ भने यस्तो व्यक्तित्व बिकार भएका मानिसहरु पढे लेखेका, पदमा पुगेका, धेरैले मान्ने गरेका पनि हुन सक्छन् । यसकारण उनीहरुको कुरा अबिस्वास गरि हाल्न धेरैलाई ग्रार्हो पर्न पनि सक्छ । यस किसिमको व्यक्तित्व विकार भएका कतिपय ब्यक्तिहरु धार्मिक गुरु, समाजसेवी, राजनितीज्ञ, पत्रकार आदिको भेषमा लुकेर बसेका  पनि  हुन सक्छन्  ।

अशिक्षा तथा अन्धविश्वास :

अज्ञानताका कारणले पनि अफवाह फैलिने गर्छ । समाज जति अशिक्षित र अन्धबिस्बासले जगडिएको छ त्यो समाजमा त्यति नै चाडो अफवाहहरू फैलिने गर्छन । 

अशिक्षाको कारणले  बिषयलाई  तथ्य परक तरिकाले  बुझ्ने र निर्णय लिने  क्षमता कमी आउँछ  । अशिक्षित  ब्यक्तिहरु चाडै अरुको कुरामा बिस्वास गरि हाल्ने , लहैलहैमा लागि हाल्ने हुन सक्छन् ।

उनीहरुले  आफुले सुनेको कुरा असत्य नै भएपनि सत्य नै हो भन्ने ठान्दछन  साथै  यो कुरा अरुका लागि  पनि महत्त्वपूर्ण  छ भन्ने  सोची यसको प्रचार गर्न पट्टी लाग्दछन   ।

मानसिक रोग :

मानसिक रोगीहरुका कारण पनि अफवाह फैलिरहेको हुन सक्छ । मेनिया (उन्माद) नामक मानसिक रोगको बिरामीले आफु शक्तिशाली भएको, जस्तो सुकै समस्या हल गर्न सक्ने क्षमता आफुसँग भएको जस्ता कुरा गर्ने गर्छन । पहिले ठिकठाक भएको ब्यक्ति पछि एकाएक म गुरु हुँ, माता हुँ, ममा अलौकिक शक्ति छ भन्दै अव्यबहारिक, ठुला ठुला कुरा गर्ने, घमण्ड गर्ने ब्यक्तिहरु प्राय यसै रोगका बिरामी हुन्छन  ।

आफूलाई गुरु, माता बताउने केहिले कोरोनाको अौषधी आफुसँग भएको, कोरोना महामारीको समधान आफूले गर्न सक्ने जस्ता अफवाह सामाजिक संजाल मार्फत फैलाउने गरेको पनि देखिन्छ  ।

मानसिक स्बास्थ्यका बारेमा अज्ञानता र अन्धविश्वासका कारण यस्ता खालका अफवाहलाई फैलाउन मानिसहरुले सहयोग गरिरहेको पनि देखिन्छ ।

सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग "Grandiose delusion disorder" का बिरामीहरुले आफुमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन । बिश्व ब्रह्माण्डको सबै ज्ञान प्राप्त  बिद्धान र ट्यालेन आफुलाई सम्झन्छन् । 

भुत र भबिष्यका सबै कुरा बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफुसँग छ भन्ने मतिभ्रम  यस्ता बिरामीमा हुन्छ । यस्ता बिरामीहरुको भ्रम पुर्ण कुरालाई अज्ञानताबस बिस्बास गर्नाले पनि जनमानसमा अफवाह फैलिएको हुन सक्छ ।  

यी र यस्ता अन्य कारणहरुले पनि अफवाह फ‌लिरहेको हुन सक्छन् । कुनै कुराको बारेमा धारण बनाउनु अगाडि राम्रोसँग सोच बिचार गर्नु जरुरी हुन्छ । बिषयबिज्ञहरुको मात्र कुरा सुन्नु पर्छ । अफवाहको पछि लाग्दा ठुलो  दुख पाईन सक्छ ।

नेपालको संविधानले प्रत्येक ब्यक्तिलाई बिचार र अभिब्यक्तिको स्बतन्त्रता दिएको छ तर यसो भन्दैमा समाजलाई हानी  नोक्सानी पुर्‍याउने र  शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने कार्य गर्नु भने अपराघ हो । नेपालको कानुनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्ने ब्यक्तिलाई दण्ड सजायको ब्यबस्था गरिएको छ  ।

(लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)