टीकापुर / कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । नदी कटान भएर बस्तीमा पसेमा नगरपालिकाका चार वडा खतरामा पर्ने देखिएको छ ।

OM Sai Pathibhara Hospital

नदी कटान भएमा वडा नं ५, , ७ र ८ का नागरिक प्रभावित हुनेछन् । सिँचाइ आयोजनाले छ वर्षअघि शाहीपुर क्षेत्रमा तटबन्ध बनाएको छ । गत वर्ष पनि सो तटबन्ध भत्किएपछि आयोजना, नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जैविक तटबन्ध गरेर बस्ती जोगाइएको थियो । आयोजनाले निर्माण गरेको ११ मिटर चौडाइको तटबन्ध नदीले कटान गर्दा गत वर्ष दुई मिटर बाँकी थियो ।

यस वर्ष तटबन्ध निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरेको जनाएको छ । तत्काल कटान शुरु भएपछि सोमबार सिँचाइ आयोजनाका प्राविधिकले निरीक्षण गरेका छन् । केही रोकथामका लागि स्थानीय सरकारले पहल गरेमा अस्थायी तटबन्ध गरेर बस्ती जोगाउन आयोजनाले सघाउने भनेको छ”, टीकापुर५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारू भन्छन् , “नदी कटान हुँदा कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदी कटान तत्काल नरोके टीकापुर५ को शाहीपुर र सिम्रेनी, ६ का केही भाग, ७ को सत्ती र ८ को धनसिंहपुर प्रभावित हुनेछन् ।

हजारौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुनेछ । क्षतिको अनुमान गर्नै सकिँदैन ।नदी कटान शुरु भएपछि वडाध्यक्षले सम्बन्धित निकायमा जानकारी गराएको बताएका छन् । केही दिनअघि नगरपालिकाको विपद् समितिको बैठकले समेत कटानको जोखिम रहेका क्षेत्रमा जैविक तटबन्ध गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख तपेन्द्रबहादुर रावल नदीले धार परिवर्तन गरिरहेका कारण नदी कटान रोक्न निर्माण गरिएका तटबन्ध हरेक वर्ष भत्कन थालेको बताएका छन् । हामीले आगामी दिनमा भौतिक संरचना बनाउँदा दिगोपनमा ध्यान दिन आवश्यक छ”, उनि भन्छन् , “अघिल्लो वर्ष बनाएका संरचना अर्को वर्ष नदीमा पानी बढ्दा बगेर जान थालेका छन् । यसले बस्ती थप जोखिममा पर्छ ।

कर्णाली नदी कटानले टीकापुरको शाहीपुरमात्र होइन, वडा नं २, वडा नं ८ को श्रीलङ्का, सत्ती पुलसमेत जोखिममा छ । केही दिनअघि सत्ती पुलको बर्दियातर्फ कटान गरेपछि छ दिन अवरुद्ध भएको थियो । तत्कालका लागि अस्थायीरूपमा मर्मत गरेर पुल सञ्चालन भएको छ । स्थानीयवासी रुपेश बुढा सरकारले समयमै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना अघि नसारे कैलाली र बर्दिया जिल्ला नदीकै कारण जोखिममा पर्ने बताएका छन्।