- टिप्पणी
बिर्तामोड / गत वर्षको कोरोना संक्रमण पछि दोस्रो चरणको संभावना वारे विज्ञहरुले आशंका व्यक्त गरी रहँदा भारत र नेपालको राजनीतिक नेतृत्वहरु त्यसको लागि आवश्यक तयारी भन्दा आआफ्नो पार्टीगत स्वार्थ केन्द्रित क्रियाकलापमा व्यस्त थियो ।
विज्ञहरुद्वारा तमाम हिदायतको वावजूद पनि दुवैतिर राजनीतिक विशाल जनसभा, धार्मिक भेला, उद्घाटन, जमघटमा कुनै कमी आएन । कोरोना प्रोटोकोलको पालना गर्नु गराउनु पर्नेमा सरकार आफै यसको उल्लंघनको कारक बन्यो र यस अपराधको दण्ड आज आम जनताले भोग्दै छ ।
यस सरकारी अपराधको लागी दोषीलाई कुनै फौजदारी सजायको भागी हुनु पर्दैन यस तथाकथित प्रजातन्त्र भएको मुलुकहरुमा । अहिले मुलुकको परिस्थिति वारे सबैलाई अवगतनै छ, मानिस अक्सिजन नपाएर छटपटिएर मर्दैछन् । स्वाब संकलन गर्नको लागी लाईनमा बस्दा बस्दै मर्नु परेको छ, आवश्यक भ्यान्टिलेटरको अभाव, आई सी यु कक्षको अभावलगायतका बिजोग अवस्था छ । आफ्नो सुरक्षा आफै गर्न पर्ने बाहेक आश, भरोसा, उपाय छैन । कसैलाई केही भई हाल्यो भने असहाय क्रन्दन र रोदन गर्नु वाहेक केही हुने वाला छैन ।
यस बेला भाग्यशाली नभएको अवस्थामा शक्तिशाली, पैसाबाट समृद्ध र पहुँचवालाले मात्र आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउन सक्छन् । निजी अस्पतालहरुको खुल्लम्मखुल्ला लुट जारी छ । रुपन्देहीबाट काठमाडौंसम्म आउदा एम्बुलेन्सले साठी हजारसम्म असुलेको समाचार पनि सुन्न र पढ्न पाईयो, तर त्यसलाई कारवाही भएको कुनै जानकारी आएन । कमिसन नमिलेर भ्याक्सिन नआई पुगेको समाचार जनताको सरकार भएको बेलामा असहाय हुन पुगेका नागरिकहरुले पढ्नु परेको छ ।
कोठे गफमा क्रान्ति गर्नु बाहेक केही गर्न सक्ने अवस्था पनि छैन । मास्क, अक्सिमीटर लगायत अन्य स्वास्थ्य सामाग्रीहरुको खरिदमा जनता ठगिईएको अनुभूति हुँदाहुँदै जानाजानी किन्नु परिरहेको छ । नेपाल र भारत दुवै तिरको कथा–व्यथा उस्तै छ । समान जस्तो सोंच, एकै प्रकारको जनता, राजनीतिक व्यक्तित्वहरु पनि उस्तै, कुनै शैक्षिक योग्यता नचाहिने, त्यस कारण परिणाम पनि उस्तै किसिमको प्राप्त हुने । उता फेकु, यता गफाडीहरू !आफ्नो कमिकमजोरीको दोष जत्ति जनता माथि !
यस्तो परिस्थितिमा यस विषम चुनौतीसंग जुझ्नका लागि आवश्यक प्राथमिकता, रणनीति, योजना, तत्परता र कार्यान्वयन हुनु पर्नेमा सरकार, विपक्षी राजनीतिक दलहरुको ध्यान राजनीतिक उठा पटक, कुर्सी जोगाउने, हटाउने, अविश्वासको मत असफल गराउने, जोड–घटाउमा मात्र भएको देखिएको छ ।
अविश्वासको मत सामना गर्नु पर्ने संघीय वा प्रान्तीय सरकारहरु जसको टाउकोमा तलवार झुण्डिएको अवस्था छ, उसको ध्यान आफ्नो लोभलाग्दो कुर्सी बचाउनेतर्फ केन्द्रित छ कि यस विषम र जटिल परिस्थितिसंग जुझ्ने कुरामा ।
यो गैरजिम्मेवारी, धोका र जनताप्रति गद्दारीको भयावह उदाहरण हो । सरकारले लकडाउन र निषेधाज्ञा लगाउने वाहेक केही अरु कुरा गरेको जस्तो खास अनुभूति हुँदैन । यो सिस्टम बढी भन्दा बढी नेताहरु मात्रै उत्पादन गर्ने र तिनीहरु (आफू निकट)लाई रोजगारी दिनका लागि मात्र हो भन्ने कुरा स्थापित गराउने अभियानमा लागेको जस्तो प्रतीत हुन्छ ।
सामाजिक संजालमा राजनीतिज्ञ व्यक्तित्वहरु जो अहिले सत्ता र शक्तिमा छैन, उच्च पदस्त अवकाश प्राप्त व्यक्तिहरु आआफ्नो बिरामीहरुका लागि अक्सीजन, भ्यान्टिलेटर र आई सी यु कक्षको लागि अनुनयविनय गरेको र नपाएर आफन्त गुमाउनु परेको पढ्नु परिरहेको छ ।
कुनै विरामी वडा सदस्य आई सी यु कक्ष खोज्दा खोज्दै नपाएर यस संसारबाट विदा भएका दर्दनाक खबरहरू आउँदैछन । दिनानुदिन गरी कमाई खाने, विहान बेलुकाको हातमुख जोड्नै नसक्ने हालात दयनीय अवस्थामा पुगेको छ । निषेधाज्ञा भनौं वा लकडाउन असर पर्ने कुरा उस्तै हो । प्राकृतिक वातावरण स्वच्छ, प्रदुषण मुक्त र शान्त देखिए पनि जनताको मन आक्रोशित र अशान्त छ ।
यस्तो अवस्थामा पनि कसरी प्रसन्न चित्त रहन सकिन्छ, जब चारै तिर ठगी जारी छ, कुनै राहत कार्यक्रम छैन, रोग लागी हाल्यो भने उपचारको ग्यारेन्टी छैन । आफ्नो मित्र गुमाउनु परेको समाचार आउछ, तर अन्तिम विदाई गर्न उपस्थित हुन् सकिने अवस्था छैन ।
यो त एउटा शुरुआतको भर्खरै प्रारम्भ भएको परिस्थितिमा यस्तो भद्रगोल छ भने झन यो अवस्था लम्बियो वा अझै भयावह भयो भने देश र जनताको हालत के कस्तो हालात होला, कल्पनासम्म गरौं । सरकारको अक्षमता र अकर्मण्यताले आम जनताको मनोबलमा ठुलो नकारात्मक असर पर्दो रहेछ ।
जे होस, यस्तो अवस्थामा आफै जागरुक हुनु र सचेत हुनु बाहेक अरु उपाय छैन । यस्तो अवस्थामा पनि केही समाजसेवीहरु, केही मनकारी व्यक्तिहरुले पुर्याउदै आएको सामाजिक सेवा र सहयोग मानवीय दृष्टिबाट उत्कृष्ट र उदाहरणीय र अनुकरणीय भएको छ । उहाँहरुलाई शत शत नमन । (योगेश्वर रोमखामीको फेस्बुकबाट साभार)