–केशवप्रसाद भट्टराई
०००
१. हिजो असोज १८ काङ्ग्रेस, एमाले, माओवादीहरूले ल्याए, असोज १८ ले माघ १९ लाई अवश्याम्भावी बनायो

राजा के सोचिरहेका छन्– थाहा छैन, तर आफूलाई राजावादी भन्नेहरू भ्रम र अन्यौलमा छन् ।
राजालाई सडकमा आउन उकासिरहेका छन् ।
राजावादी भनिने वौद्धिकहरू झन् अराजक कुरा गरिरहेका छन् ।
हिजो पनि त यिनीहरू राजासँगै थिए ।अहिले आएर भारत, चीन र अमेरिकालगायतका मुलुकले नेपालबारे पुनर्विचार गरिरहेका बताइन्छ ।
हिजो कसरी कूटनीति परिचालन गरिएको थियो थाहा छैन,
तर हिजो राजाले देउवा सरकार हटाएर असोज १८ मा शासन हातमा लिनुअघि गिरिजाबाबु र माकुने नेतृत्वको काङ्ग्रेस र एमालेले राजालाई त्यसो गर्न प्रेरित गरेका थिए ।
त्यसो गरेमा आफ्नो सहयोगको आश्वासन दिएका थिए ।
माओवादी पनि राजालाई शक्ति हातमा लिन उकासिरहेका थिए– त्यसो भएमा त्यसले तत्काल आफूमाथिको दबाबलाई केही कम पार्ने र त्यो समयको उपयोग गरेर नयाँ परिस्थितिमा नयाँ रणनीति निर्माण गर्ने उनीहरूको उद्देस्य थियो ।
भारत, चीन, अमेरिका लगायतका शक्ति राष्ट्रहरूको पनि सहमति थियो ।
निष्कर्षमा ‘असोज १८’ काङ्ग्रेस, एमाले, माओवादीहरूले ल्याए ।
असोज १८ को स्वाभाविक परिणाम ‘माघ १९’ थियो ।

०००

२. राजा ज्ञानेन्द्रको सीमा र उनीमाथिको दबाब एवम् चुनौती

व्यापार, व्यवसायमा लागेका, प्रकृति संरक्षणमा विश्वमा प्रतिष्ठित तर राजनीति र राजकाजलाई परैबाट देखेका, बुझेका, पढेका तर नजिकबाट त्यसको कुनै अनुभव नगरेका राजाको अनुभवहीनतालाई आफ्ना स्वार्थअनुरूप प्रयोगमा ल्याउने दरबारभित्र र बाहिरका स्वार्थ समूहको गोलचक्करमा राजा घुमे–घुमाइए !
अभिमन्यु बनाइए ।
यसलाई यसरी पनि हेरौँ–
राजाका निकट र अति विश्वस्त सैन्य अधिकारीहरूले लिने लामो र कठोर परीक्षणपछिको परीक्षणपछि दरबारमा भित्र्याइएका हजारौँ सेनाको घेराभित्र रहेका दाजुको हत्याबारे सुनेका, देखेका–बुझेका राजा ज्ञानेन्द्रमाथि कुनै सुरक्षा चुनौती र दबाब थिएन भन्न सकिन्न ।
त्यो चुनौती र धम्कीको चेतावनीयुक्त सन्देश परोक्ष–प्रत्यक्ष उनीसमक्ष नपुगेको हुन सक्दैन ।
आफ्नो परमाधिपतिको सुरक्षा आफ्नो दायित्व र कार्यक्षेत्रभित्रको विषय नभएको कुराको घोषणा गर्ने प्रधानसेनापति थिए त्यतिखेर ।
निर्वाचित प्रधानमन्त्रीलाई असक्षम भनेर राजाबाट घोषणा गराउने अनि राजा र राजनीतिक नेतृत्वबीच कालान्तरसम्म आशंका र अविश्वासको मनोविज्ञान निर्माण गर्ने भूमिका उनको पहिलो महत्वपूर्ण भाषण लेख्ने व्यक्तिले गरेका बुझ्न गाह्रो छैन ।
कुन रणनीतिअन्तर्गत कसैले त्यस्तो भाषण तयार गरेको थियो ?
एकै तीरले दुईतिर शिकार गर्ने, कुनै रीस पोख्ने कसैको त्यस्तो रणनीति बारे कसैले त्यतिखेर राजालाई बतायो– बताएन र ?
बताउने हिम्मत गरे–गरेनन् र ?
उनीहरूले त्यो बुझेका थिए –थिएनन् रु भित्रैकाले जानुन् ।

०००

३. नेपाली सेनाले विदेशी शक्तिसमक्ष गरेको आत्मसमर्पण र राजसँस्थाको विघटन

यहाँ अर्को कडी र अर्को प्रश्न जोडिन आउँछ– कसरी एउटा छिमेकीको एउटा कूटनीतिक कर्मचारी आएर तत्कालीन शाही नेपाली सेनाको प्रधानसेनापतिलाई तिमी राजाको पक्षमा कि हाम्रो पक्षमा भनेर धम्क्याउँदा नेपालका प्रधानसेनापतिले उनकासामु आत्मसमर्पण गरे !
संसारका कुनै शक्तिको सामु नझुकेको,
आफ्नो वीरता र वफादारीको लागि विश्वमा किम्बदन्ती बनेको महापराक्रमी नेपाली सेनाले आफ्नो गौरवपूर्ण इतिहासमा लागेको यो कलङ्कलाई तत्कालीन सैनिक नेतृत्वहरूले बाह्य शक्तिहरूका साथै प्रचण्ड, बाबुराम, गिरिजाप्रसाद र माकुनेहरूबाट परमवीर चक्र हात पारेको माने होलान्, तर आमजनताले त्यसबारे के सोचेका होलान् भन्नेबारे सोच्ने आवश्यकता नेपाली सेनाले देखेन, देखेको छैन ।
सवाल अर्को पनि छ– मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्नु भनेको मुलुकको जन्मदेखिको परिचय खोस्नु थियो, मुलुकको एकता, सद्भाव र विश्वासलाई भाँच्नु थियो । तर शिव, दुर्गा र कालीलाई आफ्नो इष्टदेव र देवी मान्ने नेपाली सेनाले त्यसलाई दलहरूबीचको निजी लेनदेनको विषय भनेर बुझ्यो ।
माओवादीले छ्वामछ्वाम आमजनताको घाँटी रेट्दा पनि,
राजाको हत्या हुँदा पनि,
मुलुकको एकताको प्रतीकको रूपमा रहेको राजसँस्थालाई बाह्य स्वार्थ रक्षाका लागि हटाउँदा पनि,
मुलुकको एकता, सद्भाव, विश्वास र पहिचानको रूपमा रहेको हिन्दु राष्ट्रको पहिचान खोसिँदा पनि मौन रहेर आफ्नो व्यापार, ठेक्का९पट्टा र शान्ति सेनामा मात्रै रमाउने तर आफ्ना प्रमुखको तीनमहिने जागिरको लागि भने भीडन्तको लागि पनि तयार रहने हाम्रो सेनाले जनताले आफ्ना लागि तिरेको करको औचित्य कसरी बुझेको छ, उसैले जानोस् !
वस्तुतः राजसँस्थाको विघटन र धर्मनिरपेक्षताको घोषणा र त्यसको पृष्ठभूमिका घटनाहरू नेपालमाथिको बाह्य आक्रमणसरह थियो ।
अनि माओवादी सत्तामा आएपछि राजनीतिक अवसरको लागि दौडने सिने नेतृत्वले हिजो माओवादी द्वन्द्वको समयमा कस्तो भूमिका खेल्यो होला रु उत्तर कठिन छ र ?

०००

४. राजा वीरेन्द्र र शान्ति क्षेत्र सन्दर्भ

अलिकता राजा वीरेन्द्रबारे कुरा गरौँ !
राजा वीरेन्द्रले विश्वका श्रेष्ठ विश्वविद्यालयबाट के सिके थाहा भएन, तर राजा महेन्द्रबाट केही सिकेनछन् !
श्री ५ वीरेन्द्र कुनै दृढ इच्छाशक्ति भएका राजा थिएनन् ।
समयमा निर्णय लिन नसक्ने,
दबाबमा सम्झौता गर्ने र दबाब हटेपछि सामर्थ्यले भ्याएसम्म त्यसको उल्लङ्घन गर्न चाहने !
तथापि उनले शासकीय सुधारमा केही राम्रा प्रयत्नहरू गरेका थिए ।
उनको कार्यकालको सबैभन्दा महत्वपूर्ण निर्णयमध्ये एउटा थियो शान्ति क्षेत्रको घोषणा !
घोषणा सही थियो, नेपालको शान्ति, स्थिरता र समृद्धिको लागि आवश्यक थियो तर राजा भावनात्मक मात्रै भएर आए ।
शान्ति क्षेत्रको व्याख्या, परिभाषा, कार्यन्वयनको विधि, प्रक्रिया आदिका बारे उनी र उनको सरकारले कुनै गृहकार्य गरेको थिएन ।
घोषणाको सात वर्षपछि सरकारको तर्फबाट त्यसको सातबुँदे व्याख्या आयो तर फेरि उक्त घोषणाको कार्यन्वयनको विधि, प्रक्रिया र संरचना आदिबारे केही भनिएन ।
शान्ति क्षेत्र प्रस्तावबारे उनले राम्रो गृहकार्य गरेका र त्यसलाई राजनीतिक र कूटनीतिक प्रचारको विषय बनाउनु भन्दा छिमेकीहरू र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसँग राम्रो परामर्श, सहमति र सहकार्य गरेर त्यसलाई अघि बढाउन सकेको भए नेपाल आफ्नो असुरक्षा र अस्थिरता र छिमेकीहरूको सन्देह र अविश्वासको बन्धन छिचोलेर धेरै विकसित भैसकेको हुने थियो ।

०००

५. नेपाली राजनीतिको अवशरवादी हीन चेतना, भारत र चीन

सेनाबारे भनियो ।
दलहरूका बारे भन्नै परेन ।
जिन्दगीभर राजाको कृपाको दानापानी खाएर राजनीति गर्ने,
राजाको नाउँमा शक्ति र सुविधा भोगेर आइरहेका वरिष्ठ पूर्वपञ्चहरू समेत एकाएक गणतन्त्र र धर्मनिरपेक्षतावादी बन्न सक्ने मुलुकमा दलहरूमा विचार, निष्ठा र विवेक असम्भव नै भयो ।
भारतले सेना, काङ्ग्रेस, माओवादी र एमालेलाई प्रयोग गरेर राजा हटाउने बन्दोबस्त मिलायो ।
धर्म, परम्परा, संस्कृति, समाज, नातागोता, कुटुम्ब आदि सबै आधारमा भारतसँग स्वाभाविक रूपमा निकट नेपालका राजाले चीनलाई सधैँ आफ्नो असल मित्र माने,
चीनको रणनीतिक उद्देश्यलाई सघाउन हर सम्भव गरे,
भारत र अमेरिका जस्ता मुलुकको आक्रोशलाई पनि आमन्त्रण गरे, भोगे तर चीनले राजालाई पूर्णत उपेक्षा गर्यो ।
त्यसले चीन लिन जान्दछ, दिन जान्दैन भन्ने कुरालाई मात्रै पुष्टि गर्यो ।
दिए पनि तर दोब्बर चौब्बर गरेर लिनको लागि मात्रै दिने बुझ्न गाह्रो भएन ।
भारत र पश्चिमा मुलुकको प्रेरणा र दबाबमा नेपालमा राजा हटाइने परिवेश निर्माण हुँदै गर्दा चीन राजाको पक्षमा उभिएको भए नेपालबाट राजसँस्था हट्ने थिएन ।
राजा रहँदा जसरी भारतका केही रणनीतिक हितहरूको प्राप्तिमा असहयोग पुगिरहेको थियो– त्यो चीनको हकमा पनि लागू हुन्थ्यो ।
प्रष्ट कुरो के थियो भने राजाको पहिलो सरोकार आफ्नो मुलुक हुने र आफ्नो मुलुकको हितको सवालमा उनले भारत पनि भन्दैनन् र चीन पनि भन्दैनन् भनेर बुझेका चीनियाँहरूले पनि राजाभन्दा दलहरूमै आफ्ना मित्र खोजे ।
कम्युनिस्ट पार्टीमै खोजे ।
तात्कालिक राजनीतिक स्वार्थले कुनै रणनीतिक सवालमा राजा चीनको निकट देखिए पनि इतिहास, परम्परा संस्कार र समाजले राजा र भारत सहज र स्वाभाविक मित्र शक्ति भएकाले राजा माथि सधैँ भर पर्न नसकिने सोच चीनले लिएको देखिन्छ ।
त्यसैले राजा रहने नरहने विषयमा ऊ निरपेक्ष र उदासीन रह्यो ।
के पनि स्पष्ट छ भने त्यतिखेर चीनको भारत, युरोप र अमेरिकासँगको सम्बन्धमा आजको भन्दा धेरै राम्रो थियो र चीनको विचार र दृष्टिकोणलाई वाह्य शक्तिहरूले उपेक्षा गर्न सक्ने स्थिति थिएन ।
माओवादी, एमाले, काङ्ग्रेसले पनि उपेक्षा गर्न सक्दैनथे ।
त्यसैले राजा हटेपछिको नेपालमा आफ्नो रणनीतिक हितहरूको रक्षाको लागि इमान्दार मित्रशक्तिको खोजीमा ऊ थियो र सो प्रयोजनको लागि माओवादी र एमालेमा उसले व्यापक लगानी शुरू गर्यो ।

०००

६. नेपालको भूराजनीतिक परिवेशको छोटो चर्चा

राजालाई जनताले हटाएका होइनन्,
हो राजनीतिक दलहरू र वाह्य शक्तिहरूले जनतामा छरेका झूठ र भ्रमले केही काम गरेको थियो ।
त्यसैले हिजो जुन जुन शक्ति मिलेर सबैले आफ्ना राजनीतिक र रणनीतिक उद्देश्यको लागि राजा हटाए आज आएर आफ्ना तिनै राजनीतिक र रणनीतिक उद्देश्यको लागि राजसँस्थाको पुनर्स्थापना खोज्न सक्छन् ।
खोजेको अनुभव भइरहेको छ ।
स्पष्टसँग भन्दा, वर्तमान नेपालले आफ्नो राष्ट्रको वारेस र केन्द्र गुमाएको र,
त्यसले नेपाली जनताको वृहत एकता, हित र सुरक्षाका लक्षहरूको प्राप्तिमा मात्र नभएर नेपालका राजनीतिक दलहरूको सुरक्षा र छिमेकी र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको जायज सरोकारलाई सम्बोधन गर्न समेत नसक्ने अवस्थामा यो मुलुक रहेको सबैले अनुभव गरिरहेका छन् ।
विश्वको यति संवेदनशील भूभागमा यस किसिमको शून्यताको स्थिति छिमेकीहरूका साथै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूका लागि पनि अहितकर हुने अवस्था उनीहरूका लागि रूचिकर नहुनु अस्वाभाविक छैन ।
एकचोटि अफगानिस्तान सम्झौँ न,
आखिर अफगानिस्तान हिजोको सोभियत सङ्घ र आजको अमेरिका, भारत, चीन र पाकिस्तानको सुरक्षा चिन्ता र चासोको मुलुक रहेकै छ ।
आफ्नो छिमेकमा, आफ्नो अत्यन्त संवेदनशील सिन्जियाङ प्रान्तसँग जोडिएको अफगानिस्तानमा अमेरिकी सेना छ,
तर चीन अफगानिस्तानबाट अमेरिकी सेना नहटोस् भनेर प्रार्थना गरिरहेको छ ।
गैरमुस्लिम अमेरिकी सेना अफगानिस्तानका अतिवादीहरू, सिञ्जियाङका पृथकतावादी अतिवादीहरू र पाकिस्तानको बलुचिस्तान लगायत अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रका अतिवादीहरूलाई छेकेर बसेको छ ।
उसको सेना हटेपछि शान्ति स्थापनाको चुनौतीले चीन र पाकिस्तानलाई त्रसित बनाएको छ ।
यस्तै स्थिति रहेमा नेपाल अफगानिस्तानको बाटोमा जाँदैछ ।
आजको तराई–मधेश हिजोको जस्तो भारतको मात्र प्रभाव क्षेत्र होइन !
तराईको नेपाल भारत सीमा क्षेत्रमा पश्चिम एसिया र मध्यपूर्व निर्माण भइसकेको छ !
उत्तरतर्फको सीमानामा अझ परका मुलुक आइसकेका छन् ।

०००

७. राजा आउने बाटो के हो त ?

त्यसैले राजसँस्थाको पुनःस्थापना हुने हो भने राजसँस्थाले आफूसँगै नेपाललाई शान्तिक्षेत्र बनाउने भारत, चीन र अमेरिका सहित राष्ट्र सङ्घ सुरक्षा परिषदको निर्णयसमेत लिएर आउनु पर्दछ ।
नेपालको एकता, सुरक्षा र अखण्डतालाई प्रत्याभूत गर्ने त्यस्तो शान्ति क्षेत्रको दायित्व राष्ट्र सङ्घ सुरक्षा परिषदको हुनु पर्दछ ।
प्रजातान्त्रिक स्थिरतालाई त्यस्तो शान्ति क्षेत्रले आफ्नो लक्ष्य बनाएको हुनु पर्दछ !
दलहरू जति खराब भए पनि प्रजातान्त्रिक शासन प्रणालीका अभिभाज्य अङ्ग हुन् ।
निरन्तर अभ्यासबाट मात्रै उनीहरूमा परिष्कार आउने हो ।
त्यसैले राजनीतिक दलहरूको सहयोग, सद्भाव र विश्वास राजसँस्थासँग जोडिनै पर्दछ ।
त्यसमा राजाको व्यक्तिगत प्रयास पनि आवश्यक हुन्छ ।
प्रिय–अप्रिय जे भए पनि नेपालको परिवेशमा बाह्य शक्तिहरूको आपसी रणनीतिक सहमति पनि उत्तिकै आवश्यक छ तर त्यो सहमतिमाथि उल्लेख भएजस्तो अन्तर्राष्ट्रिय प्रतिबद्धतासहितको शान्ति क्षेत्रसहित मात्रै राजसँस्थाको पुनःस्थापना भए मात्रै त्यस्तो पुनरागमन दीगो र उपलब्धिमूलक हुन्छ ।
नत्र एउटा सम्मानित नागरिक भएर,
नेपालका कुनै पनि नेताभन्दा लोकप्रिय भएर बसेका, आमजनताको मनको राजा भएर बसेका राजालाई किन भुङ्ग्रोमा हाल्नु ?
आफ्नो स्वार्थ–साधनाको लागि ल्याउनु अनि स्वार्थ सिद्धि भएपछि फेरि बखेडा, फेरि बखेडा !
त्यसैले राजा आए राजसँस्था, राष्ट्र र प्रजातन्त्रको दीगो भविष्य सुरक्षित हुने परिस्थितिमा मात्र आउन् !
नत्र राजा जहाँ छन्, त्यहीँ रहुन् ! (घटना र बिचार साप्ताहिकबाट साभार)