देवेन्द्र किशोर ढुँगाना
भन्छौ— भुइँमान्छेहरू त नक्साको कुनामा कोरिएका
धर्सा हुन्,
तर तिनै धर्साले देशको ढाड थामेका छन्।
तिमी शहरका झिलिमिलीमा
देश खोज्छौ,
हामी खेतका चिरा–चिरामा
भोक र भविष्य रोपिरहेका छौँ।
आन्दोलनको धुवाँभित्र
जब गाउँको आकाश कालो बनाइयो,
रैथाने बस्तीका ढोका- ढोकामा दाह्रा गाडिए,
त्यस बेला
संसदका झ्यालहरूमा बसेर विकासको गीत गाउनेहरुले
हाम्रो चिच्याहट सुनेनन्।
किनकि उनीहरूलाई मानिसभन्दा
नक्सा प्यारो थियो, इतिहासभन्दा ठेक्का प्यारो थियो।
तर सुन ! भुइँमान्छेहरू
अब हिलोमाथि मात्र होइन, अधिकारमाथि पनि पाइला टेक्न सिक्दैछन्।
जो भुइँमान्छे भनेर हेलाको
ठप्पा लगाइए, उनीहरू त यही माटाका पहिलो धड्कन हुन्।
जो शहरका झुप्रामा रात काटिरहेका छन्, उनीहरूको पसिनाले नै सहरका अग्ला घर उठेका हुन्।
तर विडम्बना ! महल बनाउने हातहरू आफ्नै ओतको लागि सडकमा कराइरहेका छन्।
भन्छौ— विकास आयो रे !
तर कसका लागि आयो ?
खोलाको छाती चिरेर सिमेन्टका राक्षस उभ्याउनेलाई ?
कि बगरमा हराएको माझीको गीतलाई ?
हामीले देखेका छौँ— रैथाने पहिचानहरू ठूला कम्पनीका बोर्डमुनि सुस्त –सुस्त
मर्दै छन।
हामीले देखेका छौँ जुम्लाको स्याउभन्दा विदेशी ब्रान्ड महँगो बनेको, र किसानको हात झन् सस्तो छ।
हामी ती किसान हौँ जो फोहोर माटो र हिलोसँग खेल्दै देशको
भोक मार्छौँ।
हामी ती मजदुर हौँ जो झुत्रो टोपीले पसिना पुछ्दै सभ्यताको इँटा जोड्छौँ।
हामी ती रैथाने मान्छे हौँ जसको भाषा, भेष, संस्कृति र जमीन बजारको मोलतोलमा बेचिँदैछ।
अब धेरै भयो !
अब भुइँमान्छेहरू चुप लागेर
बस्ने छैनन्।
हाम्रो मौनतालाई कायरता ठान्नेहरू, सुन !
अब खेतका आली–आलीबाट विद्रोह उम्रिँदैछ। अब हलो समात्ने हातहरूले अधिकारका झण्डा समाउनेछन्।
अब पसिनाका थोपाहरू क्रान्तिका अक्षर बन्नेछन्।
हामी विकासविरोधी होइनौँ, तर यस्तो विकासको विरोधमा छौँ
जसले मान्छे मासेर सडक बनाउँछ। हामी समृद्धिको विरोधमा होइनौँ, तर यस्तो समृद्धिको विरोधमा छौँ
जसले गाउँ उजाडेर सहर सजाउँछ।
हामीलाई चाहिएको विकास—
जहाँ रैथाने अस्तित्व बाँचोस्, जहाँ किसान आत्महत्या होइन, सम्मानको
जीवन बाँचोस्, जहाँ मजदुरको हात भिख होइन, अधिकारको
प्रतीक बनोस्। जहाँ सुकुमबासी गाली होइन, संघर्षको
इतिहास बनोस्।
कोक्रोज आन्दोलनको आगोभित्र
अब नयाँ पुस्ता जन्मिँदैछ।
जेन जीका आँखाहरूमा टिकटकका रंग मात्र छैनन्,
त्यहाँ विद्रोहका बिजुली पनि चम्किरहेका छन्। उनीहरू प्रश्न गर्दैछन्—
किन हाम्रो जंगल बेचियो ?
किन हाम्रो खोलो सुकाइयो ?
किन हाम्रो गाउँ विस्थापित भयो ? किन विकासको नाममा हामीलाई नै पराइ बनाइयो ?
र अब ती प्रश्नहरू नारामा बदलिँदैछन्।
उठ भुइँमान्छे ! तिम्रो माटो
तिम्रै हो।
उठ किसान !
तिम्रो अन्नमाथि तिम्रै अधिकार हो। उठ मजदुर !
तिम्रो पसिनाको मूल्य ठेकेदारको दयाले होइन, संघर्षले तय गर्छ।
अब झुप्राहरू डराउने छैनन्
क्रूर शासक सँग। अब हिलोमा खेल्ने हातहरूले
इतिहास रच्नेछन्। अब भुइँमान्छेहरू देशको किनार होइन,
देशको केन्द्र बन्नेछन्।
किनकि-यो समय झुकेर बाँच्नेहरूको होइन,
उठेर अधिकार खोस्नेहरूको
समय हो।
भद्रपुर-८ सुकृतिनगर




























