विर्तामोड— विकास निर्माण र कृषि क्षेत्रका समस्याहरू समाधान गर्न ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस झापाको प्रतिनिधि मण्डलले बुधबार काठमाडौंमा तीन मन्त्रालयका जिम्मेवार मन्त्रीहरूसँग भेटवार्ता गरेको छ।
जिल्ला सभापति देउकुमार थेबे नेतृत्वको प्रतिनिधि मण्डलले पहिलो भेट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग गरेको थियो। भेटमा प्रतिनिधि मण्डलले एसियन हाईवे निर्माणका क्रममा बिर्तामोड बजार क्षेत्रको सौन्दर्य र व्यापारमा असर नपुग्ने गरी व्यवस्थित फ्लाइओभर निर्माण गर्न सुझाव दिएको छ। कलंकीको जस्तै बाइपास निर्माण गरी बजार क्षेत्रको सन्तुलन कायम गर्नुपर्ने सुझाव प्रतिनिधि मण्डलले दिएको हो।
त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँगको भेटमा प्रतिनिधि मण्डलले अन्नबाली तथा चिया जस्ता नगदे बालीका लागि आवश्यक युरिया, डिएपी र पोटास मल तुरुन्त उपलब्ध गराउन माग गरेको छ। मल तुरुन्त उपलब्ध गराउन नसकेको खण्डमा किसानले सीमावर्ती क्षेत्रबाट ल्याएको मल नखोस्न पनि प्रतिनिधि मण्डलले सरकारलाई आग्रह गरेको छ। “या त राज्यले मल उपलब्ध गराओस्, होइन भने किसानले आफैंले जोहो गरेको मल खोस्ने कार्य बन्द गरियोस्,” प्रतिनिधि मण्डलको स्पष्ट भनाइ थियो।
साथै, हालको सुक्खा खडेरीका कारण प्रभावित किसान र चिया व्यवसायीको सिँचाइको समस्या समाधान गर्न ऊर्जा मन्त्री दीपक खडकासँग भेट गर्दै सिँचाइ मोटर तथा बोरिङ्गको बिलमा अनुदान उपलब्ध गराउन माग राखिएको छ।
कांग्रेस झापाको प्रतिनिधि मण्डलको काठमाडौं भेटघाटलाई तीनै मन्त्रालयले सकारात्मक रूपमा लिएको र समस्या समाधानमा समन्वय गरिने आश्वासन दिएको जनाइएको छ।






































