काठमाडौं— रौतहटमा वि.सं. २०६४ को चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३ वर्षीय गौरीशंकर राम चमार अहिले पनि न्यायको खोजीमा छन्। शरीरभरि बमका खतै खत (जो कहिल्यै मेटिदैनन्) बोकेका गौरीशंकर उच्च अदालतको फैसलाबाट निराश छन्, जसले गर्दा उनले भोगेको पीडालाई बेवास्ता गरेको छ। गौरीशंकरले आइतबार पत्रकार सम्मेलमा आफुले लगाएको शर्ट खोलेर बम बिस्फोटमा कहिल्यै नमेटिने खतैखत देखाउँदै पीडा खोल्नु भएको हो । 

वि.सं. २०६४ साल चैत २७ गते साझ साँढे ६ बजे रौटहटको राजपुरस्थित मोहम्मद आफताब आलमको घरमा भोलिपल्ट हुने संविधानसभा निर्वाचनमा अरुलाई तर्साउने, आफूले बुथ कब्जा गर्ने योजनका साथ कार्यकर्ताहरूले बम बनाइरहेका थिए । त्यही समय एक जनाले सल्काएको चुरोटको आगोका कारण बम बिस्फोट हुँदा २३ जना घाइते भएका थिए ।

सोही दिन भएको घटनाको विवरण र गौरीशंकरको भोगाइ यस प्रकारको छः

वि.सं. २०६४ को चैत महिनामा पूर्वसांसद मोहम्मद आफताब आलमको घर नजिकै भएको बम विस्फोटमा दुई जना मारिएका थिए भने कैयौं घाइते भएका थिए। घाइते र मृतकलाई इँटाभट्टामा हालेर ज्युदै जलाइएको आरोप आलममाथि लागेको थियो। विस्फोट हुनुभन्दा केही बेरअघि मात्रै आलमको घरमा पुगेका गौरीशंकर घाइते अवस्थामा भागेर ज्यान जोगाउन सफल भएका थिए।

गौरीशंकरले प्रहरी र अदालतमा दिएको बयानअनुसार, उनी आफ्नो ज्याला लिन आलमको घरमा पुगेका थिए। अर्थात् आलमले काम गरे वाफतको ज्याला लिन भनेर उनीहरुलाई बोलाएको रहेछन् । ज्याला लिने भनेर गौरीशंकर आलमको घरको ढोकामा पुग्नेबित्तिकै बम विस्फोट भयो र उनको शरीरभरि पोलेपछि भागेर खेतमा बेहोस भएरपल्टिए। गाउँलेहरूले उनलाई खेतमा लडेको देखेपछि उद्धार गरी भारतको सीतामढीस्थित अस्पताल पुर्‍याए। करिब तीन महिनाको उपचारपछि उनी निको भएर घर फर्किए । ज्यान त जोगियो तर उनको शरीरमा विस्फोटका गहिरो खत र दुवै कानका लोती भने गुम्यो। घाउ निको भए पनि शरीरका अन्य भागबाट छाला निकालेर घाउ टालिएकोले गर्मीमा उनको शरीर असाध्यै पोल्ने गरेको उनी बताउछन्।

गौरीशंकरको शरीरमा भएको यो भन्दा ठूलो प्रमाणमाथि अदालतको प्रश्न

विस्फोटको १२ वर्षपछि सर्वोच्च अदालतको आदेशमा आलममाथि अनुसन्धान सुरु हुँदा प्रहरीले भारतको सीतामढीमा गौरीशंकरलाई फेला पारेको थियो। उनको शरीरभरि विस्फोटका खत थिए। प्रहरीसँगको बयानमा उनले घटनाको दिन घटनास्थलमा रहेको र ठूलो आवाजमा विस्फोट भएको बताएका थिए। त्रिवि शिक्षण अस्पतालले गरेको स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि गौरीशंकर विस्फोटबाट घाइते भएको पुष्टि गरेको थियो।

जिल्ला अदालत रौतहटले गौरीशंकरको बयान र स्वास्थ्य प्रतिवेदनलाई महत्वपूर्ण प्रमाण मानेको थियो। जिल्ला अदालतले गौरीशंकरमाथि सुरक्षा चुनौती रहेको भन्दै उनलाई सुरक्षा दिन आदेश समेत जारी गरेको थियो। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोट भएको र गौरीशंकर घाइते भई उपचार गराएर बचेको कुरालाई प्रमाणित ठहर गरेको थियो।

तर, उच्च अदालत वीरगञ्जले भने गौरीशंकरले पेश गरेका कुनै पनि प्रमाणलाई स्वीकार गरेन। उच्च अदालतले उपचारका क्रममा उनका आफन्तले 'स्टोभ पड्किएको' भनेर लेखाएको विवरणलाई आधार बनाउँदै गौरीशंकर विस्फोटबाट घाइते भएको तथ्यमाथि नै प्रश्न उठायो। न्यायाधीशहरूले 'बेहोस भई लडेको व्यक्तिले अरूलाई कसरी फोन गर्न सक्छ?' भन्दै गौरीशंकरको बकपत्र 'अपत्यारिलो' रहेको ठहर गरे। आलमको घर र इँटाभट्टामा काम गर्नेहरूले गौरीशंकरलाई नचिनेको भन्दै उनको बयानलाई 'अविश्वसनीय' भनी प्रमाणको रूपमा लिन अस्वीकार गरियो।

गौरीशंकरको स्वभाविक आक्रोश र न्यायको अपेक्षा

उच्च अदालतको यो फैसलापछि आलम र उनका सहयोगीहरू कैदमुक्त भएका छन्। यसले गौरीशंकरलाई थप चिन्तित बनाएको छ। 'ठीकसँग मिसिल हेरेर फैसला गरिदिनुपर्थ्यो, उहाँहरूले गलत फैसला गर्नुभएको छ,' गौरीशंकर भन्छन्, 'हामी त त्यही घटनामा परेर जलेका साक्षी हौं, शरीरको यस्तो अवस्था छ, घटना देख्ने म त ज्यूँदै छु, उहाँले कसरी त्यहाँ बम नै पड्किएको छैन भन्न सक्नुभयो ?'

गौरीशंकरलाई निरन्तर धम्की आउने गरेको र घरका सदस्यलाई समेत त्रास देखाइएकोले उनी सुरक्षाको चिन्तामा छन्। शरीरभरि बमका खत बोकेका गौरीशंकरको पीडा र 'ज्यूँदो साक्षी' लाई उच्च अदालतले उपेक्षा गरेको आरोपले न्यायपालिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।