कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।
तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।
निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।
त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिनमा प्रवेश गरेको छ। तर पीडित परिवारको पीडा, देशको आक्रोश र राज्यको बेवास्ता अझै पनि उस्तै छन्।
घटना सार्वजनिक भएपछि राष्ट्रिय तहमा चासो बढ्यो। तत्कालीन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्यो, प्रहरी प्रशासनमा थुप्रै सरुवा र कारबाहीहरू भए। तर अनुसन्धान प्रक्रियामा बारम्बार लापरबाही र ढाकछोप देखियो।
एक युवक दिलिपसिंह विष्टलाई दोषी बनाई पक्राउ गरियो, तर पछि डीएनए रिपोर्ट नमिलेको भन्दै रिहा गरियो।सीसीटीभी फुटेज मेटिएको घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठायो।
प्रमाण नष्ट गरिए, अनुसन्धान विफल भयो, र वास्तविक दोषीहरू आजसम्म स्वतन्त्र छन्।
https://www.youtube.com/watch?v=nwQv9vYsAnQ
निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन्,हरेक बिहान म ढोका हेर्छु, लाग्छ निर्मला फर्किएर आएकी होली। तर त्यो आशा फेरि चिसो निराशामा बदलिन्छ।
बुबा यज्ञराज पन्त, जो राज्यसंघर्षका हरेक तहमा छोरीको न्यायको माग गर्दै हिँडे, आज मौन छन्। उनका शब्दहरू सकिएका छन्। २५०० दिनहरू उनीहरूको लागि केवल गन्तीका दिन होइनन्—हरेक दिन एउटा भयानक सम्झना, एउटा अधुरो सपना हो।
निर्मला पन्तको हत्याले तत्कालीन समयमा युवाहरूलाई सडकमा ल्यायो। माइतीघर मण्डला, देशका प्रमुख सहरहरूमा विरोध प्रदर्शनहरू भए। सामाजिक सञ्जालभरि (जस्टिस फर निर्मला) ट्रेन्डिङ भयो।
तर समय बित्दै जाँदा त्यो आवाज क्रमशः कमजोर बन्यो। आज, कहिलेकाहीँ सालमा एउटा प्रदर्शन, केही पुष्प गुच्छा, र न्याय हुनुपर्छ भन्ने खोक्रो वक्तव्यबाहेक अरू केही छैन।
वर्षौँदेखि सरकार फेरिए, गृहमन्त्री फेरिए, छानबिन समिति फेरिए। तर एउटै कुरा फेरिएन—न्याय प्राप्तिमा भएको ढिलाइ।देशका शासकहरू निर्मलाको नाम लिन्छन्, भाषण दिन्छन्, तर दोषीहरू पत्ता लगाउने आँट गर्दैनन्। राजनीतिक असंवेदनशीलता यति गहिरो भइसकेको छ कि निर्मलाको हत्याको छानबिन एक राजनीतिक स्टन्ट जस्तो देखिन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टैका सभापति रवि लामिछाने गृहमन्त्री हुनु भन्दा अगाडि र भइसके पश्चात निर्मला हत्याकाण्डका सबै फाइल खोल्छु र दोषिलाई सजाय दिलाएर छोड्छु भन्ने उनी आज विभिन्न मुद्दामा मुछिएका छन् र आफैँलाई निर्दोष साबित गर्न हम्मे हम्मे परिरहेको छ।
त्यसपश्चात गृहमन्त्री पद सम्हालेका रमेश लेखकले पनि आफ्नो ठाउँकी बालीकालाई न्याय दिलाएर छोड्छु भनेर निर्मलाको आमाबुबा र सिङ्गो राष्ट्रलाई नै दिलासा दिएका थिए र जसका कारण निर्मलाको परिवारमा एउटा आशाको किरण छाएको थियो। तर त्यो आशा आशामा मात्र सीमित रह्यो। निर्मला हत्याकाण्डका सबै पुराना फाइल खोल्ने भनिएका गृहमन्त्री आफैँ विभिन्न मुद्दामा मुछिएर आफ्नो बचाउमा भाषण दिँदै छन्।
निर्मलाको हत्या भए लगतै आम जनमानस देखि विभिन्न सेलिब्रेटिहरुले सडक देखि सदन सम्म तताएका थिए। तर आज तिनै निर्मला पन्त कसैको शब्दमा समेत रहिन, रहिन त केवल नेताहरुले भोट पाउने माध्यमको रुपमा ।।
तर आज पनि निर्मलाको मृत्यु सम्झिने बितिक्कै धेरै छोरी र आमाबुबाहरुका गह भरिएर आउँछन्। युवाहरुमा रिसको ज्वाला फुटेर आउँछ। तर पनि यो सरकारको अगाडि भने कसैको बोल्ने हिम्मत भने छैन र होस् पनि कसरी, सरकार विरुद्ध बोल्न खोज्नेहरूको बोली बन्द गराइन्छ।
गुप्तचर खबर सँगको संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीका झोले वक्ता भनेर चिनिएका रामप्रसाद रिजाल भन्छन् , "दोषिले सजाय पाउन जरुरी छ र त्यसका लागी केपी ओली नेतृत्वले आफ्नो काम गरिरहेको उनी बत्ताउँछन्।"
त्यसै गरी सानै उमेरमा पत्रकारिता क्षेत्रमा जमेकी आकाङ्छा धामी भन्छिन् "म पहिले देखि नै यो घटनाको विषयमा गम्भीर छु र प्रत्यक्ष संवादका लागी गृहमन्त्री ज्यूसँग समय माग्दा यो विषयमा गृहमन्त्री ज्यू बोल्न नचाहने जानकारी प्राप्त भयो।" हामीसँग प्रत्यक्ष कुराकानी गर्दै उनी भन्छिन् "निर्मला पन्तको हत्या केवल एउटा बालिकाको बलात्कार र हत्या मात्र होइन, यो न्याय प्रणाली, प्रशासनिक निष्क्रियता, र प्रहरी तन्त्रमा रहेको गम्भीर विफलताको ज्वलन्त उदाहरण हो। यस्तो घटना एक लोकतान्त्रिक समाजमा कदापि स्वीकार्य हुन सक्दैन। जबसम्म निर्मलालाई न्याय दिइँदैन, तबसम्म “न्याय” शब्द नै देशका आम नागरिकका लागि अर्थहीन बन्नेछ।"
त्यसै गरी कुनै समय जस्टिस फर निर्मला भनेर सामाजिक सञ्जालमा तहल्का मच्चाउने राष्ट्रिय गायक श्रीकान्त राना क्षेत्री भन्छन्, "यस घटनामा ठुलै व्यक्ति र पार्टिको हात रहेको हुनुपर्छ, जसका कारण यो मुद्दालाई आज सम्म पनि ढाकछोप गरिरहेको देखिन्छ भन्दै आशङ्का व्यक्त गरेका छन्।"
साथै विगत पन्ध्र वर्ष देखि अनुसन्धानात्मक पत्रकारिता गर्दै आएका फणीन्द्र लामिछाने भन्छन्, "निर्मलाको हत्यारा पत्ता लगाउन नसक्नु र दरबार हत्याकाण्डको छानबिन गर्न नसक्नु एउटै हो । यो सरकारको लाचारीपन नै हो।"
तर जसले जे जस्तो बोले पनि यो मुद्दा आफ्नै गतिमा छ। २५०० दिनपछि पनि मुख्य दोषी को हो भन्ने प्रश्न अनुत्तरित छ।
राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न स्वतन्त्र छानबिन समितिहरूले प्रतिवेदन बुझाएका छन् तर कार्यान्वयनको पहल छैन। पीडित परिवार झनझन एक्लिँदै गएका छन्।
निर्मलाको कथा केवल एउटा घटनाको विवरण नभएर उनी हरेक नेपाली चेलीका लागि चेतावनी हुन्—यो देशमा तिमी सुरक्षित छैनौँ भन्ने।
उनी हरेक आमाको डर हुन्, जो भोलिपल्ट आफ्नी फुल जस्ती छोरीलाई कतै उखुबारीमा बलात्कारपछि मृत भेटिने डरमा बाँचेका छन्।
२५०० दिनपछिको प्रश्न कति दिन अझै कुर्नु पर्ने ? राज्य कहिले जाग्ने दोषीहरूलाई कहिले कारबाही हुने ? र, निर्मलालाई न्याय कहिले ?
२५०० दिनको यो पर्खाइ केवल निर्मलाका आमाबाबुको होइन, सम्पूर्ण न्याय प्रेमी नागरिकको हो। यो पर्खाइको अन्त्य न्यायद्वारा होस्, न कि भुल्दै गएकी छोरीको सम्झनाबाट।
निर्मलाले न्याय पाउने दिन, यो राष्ट्रको आत्मा थोरै भए पनि शुद्ध हुनेछ।
निर्मलाको जस्तो घटना एक दिनको विषय होइन। जबसम्म दोषीहरूलाई कारबाही हुँदैन, तबसम्म यो समाजमा कुनै बालिका सुरक्षित छैन। चुप लाग्नु अब ‘सहनशीलता’ होइन — मौन समर्थन हो। जुन राज्य बालिकालाई सुरक्षा दिन सक्दैन, जसले न्याय दिन अस्वीकार गर्छ, त्यो राज्य ‘लोकतान्त्रिक’ होइन — त्यो अपराधीहरूको किल्ला हो।
अब निर्मलाको नाममा श्रद्धाञ्जली होइन, अब क्रोध चाहिन्छ। आँसु होइन, कारबाही चाहिन्छ। भाषण होइन, निर्णय र प्रतिकार चाहिन्छ।