• सरोज निरौला

काठमाडौँ / पूर्वको तराईमा विषेश गरी मनाइने जितिया पर्वलाई थारू महिला सभा उपत्यका कार्य समितिले राष्ट्रिय नाच घरमा भव्यताको साथ मनाउने भएको छ । 

थारू महिला सभा उपत्यका कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी पर्व नाटक घरमा मनाउने जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital

संघले विज्ञप्ति जारी गर्दै थारू पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म छरिएर रहेको र पछिल्लो समय जितिया पर्व लोप हुँदै जाने अवस्था आएको साथै यसको संरक्षणका लागी थारू सभाले गर्दै आएको कार्यक्रम अनुसार राष्ट्रिय नाचघरमा पर्व मनाउन लागिएको थारू महिला सभाकी अध्यक्ष  निलम चौधरीले जानकारी दिइन् । 

उनले जितिया पर्वमा सबै महिलाहरूको उपस्थिति आवश्यक रहेको र यस पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सबैलाई आग्रह समेत गरिन् । अध्यक्ष चौधरीले असोज २ गते नाचघरको सभाहलमा हुने कार्यक्रममा २ लाख लागत लाग्न सक्ने अनुमान रहेको बताइन् । 

यस पर्वको विशेषता अन्य चाडपर्व भन्दा भिन्न रहेको थारू महिला समाजका सल्लाहकार तथा अधिवक्ता बुटसेन चौधरीको भनाइ छ । 

अधिवक्ता चौधरीका अनुसार जितिया पर्वमा आफ्नो छोरा छोरीको पराक्रम वृद्धिहाेस भनेर कामना गर्ने प्रचलन छ । यो पर्व मनाउँदा परिवारमा सँधै मङ्गल हुने विश्वास रहेको कारण पनि यो चाड मनाउनु आवश्यक रहेको उनले बताए । 

थारू समुदायमा मनाउने जितिया पर्व विशेषगरी पूर्वी तराईका थारूहरू मनाउने गर्दछन् । यो पर्व सुद लागेपछि मान्ने गरिन्छ । यस पर्वमा सुर्य भगवान र तिमहानको पूजा गरिन्छ । खास गरी नव विवाहित महिलाहरू ब्रत बस्ने गर्दछन् । 

जितियाको व्रत लिएपछि आफ्ना बालबच्चा जित महान जस्तै स्वच्छबलवान हुने पौराणिक मान्यता रहेको छ । यो पर्व प्रकृतिसँग सम्बन्धित रहेको र पर्वमा घिरौलाको पात, तुलसी, पुष्प आदि प्रयोग हुने गर्दछ । यस पर्वले थारू जाति र प्रकृतिको सम्बन्धको साथै भाइबहिनीको प्रेमको सम्बन्ध पनि दर्शाउने गर्दछ ।