काठमाडौँ / सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् ।
जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा दोहोर्याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
तर सर्वोच्चले पनि उनको निवेदन खारेज गरिदिएको छ । उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्याउन अनुमति नहुने आदेश दिएको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ (घ) मा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने भनिएको छ । दफा १६ मा पदमुक्तसम्बन्धी व्यवस्थाअनुसार दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भए त्यस्तो पदबाट मुक्त हुने उल्लेख छ ।
खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखतसमेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन् ।
एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो । उक्त मुद्दामा पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा बसेका थिए । खातुन १० हजार धरौटीमा रिहा भएर उच्च अदालतमा मुद्दा लड्दै आएकी थिइन् ।