काठमाडौं / काठमाडौंमा २४ वर्षीय युवतीलाई बलात्कार गरेपछि सुन र नगद लुटपाट गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङ रहेको प्रहरीले जनाएको छ ।
गत जेठ २९ मा बेलुका भोटेबहाल स्थित गेस्ट हाउसमा नसालु पेय पदार्थ खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
सामाजिक सञ्जाल ईमो मार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोबाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए ।
आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।