काठमाडौँ / नेपाल एसीसी महिला टी- ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ ओभरमा छोट्याइएको थियो । नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन् । बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।
बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन् ।
त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिइन्  । जितसँगै नेपाल ३ खेलबाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग खेल्नेछ ।