काठमाडौँ / विश्व पृथ्वी दिवसको अवसरमा आज काठमाडौंसहित नेपालका विभिन्न स्थानमा कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।
सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् ।
पृथ्वीको संरक्षण कार्यक्रमले नागरिकमा पृथ्वीको संरक्षण कसरी गर्ने र अबका दिनमा पृथ्वीको संरक्षण गर्न नसके कस्तो असर पर्छ भन्ने कुराको चेतना पुग्ने उनीहरूको बुझाइ छ ।
सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।
तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।
पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।