बिर्तामाेड / झापाको मेचीनगर नगरपालिकामा मात्र रहेका किसान जातिले आसन्न स्थानीय तहको निर्वाचनमा भोट माग्न आउने दललाई आफूहरूको माग पूरा गर्ने सर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् । 

अघिल्लो निर्वाचनमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने आश्वासन देखाएका जनप्रतिनिधिले चुनाव जितेपछि आफूहरूको अवस्था बुझ्न नआएको भन्दै यस्तो धारणा बनाएका हुन् । 

OM Sai Pathibhara Hospital

बैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिएसँगै राजनीतिप्रति त्यति चासो नराख्ने किसान जातिहरूले आफूहरूको सङ्ग्रहालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिने बताउँदै आएका छन् । किसान समुदायमा सात सय भन्दाबढी मतदाताहरू छन् । 

किसान समुदायले मेचीनगर नगरपालिका –९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु गरेको छ। तर, स्थानीय सरकारले वेवास्ता गरिदिँदा बजेट अभावका कारण सङ्ग्रहालयको निर्माण सम्पन्न हुन सकेको छैन् । 

२०६० मा किसान समुदाय सङ्गठित भएर ‘किसान समुदाय विकास प्रतिष्ठानको स्थापना गरेका थिए। सङ्ग्रहालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँकतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम सङ्कलन गरेर उनीहरूले प्रतिष्ठानका लागि एक कठ्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन्।

भवन रङरोगन र झ्यालढोकाको काम बजेट अभावले बाँकी नै छ। नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन दिएको थियो। तर भवन निर्माण गर्दा समेत नगरपालिकाले चासो नदेखाएको स्थानीय जोगी किसानले बताए ।