बिर्तामोड / मुलुकमा प्रत्यक्ष बिक्रीको अनुमति लिदै पीरामिड शैलीमा सर्वसाधारण ठग्ने ठगहरू दिन प्रति दिन बढिरहेको समयमा ठगी कै नयाँ स्वरुप फेरी बजारमा आइसकेको छ । ठगी कै फरक नकाव लगाएर प्रस्तुत हुँदै सर्वसाधारण ठगेका घटनाहरू सार्वजनिक हुने क्रममा यस्तै एउटा फरक घटना चर्चामा आएको छ ।
कञ्चनपुरमा एक इन्स्टिच्युट मार्फत रोजगारी दिने प्रलोभनमा युवायुवतीलाई ठगी गदै आएको पाइएको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिको महेन्द्रनगरस्थित शाखाले युवायुवतीहरूलाई झुक्याएर ठगी गरिरहेको पाइएको छ ।
भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोकमा रहेको शाखाले बेरोजगार युवायुवतीलाई जागिर दिन्छु भन्दै तालिम दिने र फिल्डमा खटाएपछि रोजगारी नदिएर ठगेको विषय सार्वजनिक भएको छ । पैसा तिरेर रोजगारीका लागि तालीम लिएका ती युवायुवतीलाई बिचल्नी बनाएपछि यो घटना अझ पेचिलो बनेको छ ।
चर्को शुल्कमा तोकिएको समयसम्म तालिम नदिएको र तालिमका लागि ग्राहक खोज्न गाउँगाउँमा पठाएर काम गर्न नसकेको आरोपका साथ पैसा नदिएर श्रम शोषण गरेको पीडितहरूले दावी गरेका छन् । भीमदत्त नगरपालिका–सालघारीकी किरण उराबले अफिसमै रोजगारी दिन्छु भन्दै १० हजार पाँच सय रुपैयाँ लिएर सामाजिक परिचालकको तालिम दिएको तर, अहिलेसम्म रोजगारी नदिएको गुनासो गरेकी छिन् ।
भीमदत्त नगरपालिका–१० तिल्केनीकी प्रेरणा बमले १० हजारमा सात दिन तालिम लिएपछि रोजगारी दिने आवश्वास दिएपनि अहिलेसम्म रोजगारी नदिएको बताएकी छिन् । सो संस्थाले सातदिने तालिम भने पनि पाँच दिन मात्रै तालिम दिएको पनि प्रेरणाले बताएकी छिन् ।
त्यसतै , बेदकोट नगरपालिका–६ मुसेपानीकी शान्ति चौधरीले पनि १० हजारमा सामाजिक सहजकर्ताको तालिम लिएपछि उनले संस्थाले सिलाइकटाइ सम्बन्धी तालिम दिन्छ भनेर १३ जनाबाट पैसा उठाएकी थिइन् ।
महुन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालिले भने विभिन्न अनावश्यक बाहना बनाउँदै कसैलाई नठगेको दाबी गरेको छ । कन्सल्टेन्सीका केन्द्रीय कार्यालय प्रमुख अन्दाज बाब्लीले तालिम लिनेहरूको संख्या थोरै भएकाले तालिम दिन नसकेको बताउँदै आएका छन् ।
ठगिएका युवायुवती पैसा फिर्ता नभए प्रहरीमा उजुरी दिने तयारीमा रहेका छन् । रोजगारीको नाममा संस्थाले ठगेको भन्दै अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले संस्था माथि कार्यबाहीको माग समेत राखेका छन् ।
अनेरास्ववियु कञ्चनपुरका युवा नेता रवीन नाथले नेटवर्किङ विधिबाट ठगी धन्दा चलाएकाले संस्थामाथि कारबाही गर्नुपर्ने बताएका छन् ।