बिर्तामोड / विराटनगरकै ठुलो उद्योग रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी कम्पनी प्रालिले आफ्नो उत्पादन गुडलाइफ बिस्कुटमा कम तौल राखी उपभोक्ता ठगी गर्दै आएको विषय सार्वजनिक भएको छ । विराटनगर कै उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादन हुँदै आएको गुडलाइफ बिस्कुटमा उल्लेखित भन्दा कम तौल रहेको सार्वजनिक भएपछि यो विषय संवेदनशील र पेचिलो बनेको हो । 

गुडलाइफ बिस्कुटको रयापरमा २ सय १५ ग्राम तौल उल्लेख गरको भएपनि सन् २०२२ फेब्रुअरी १५ को ब्याच नम्बर १९ लेखिएको गुडलाइफ बिस्कुटमा १ सय ९८ देखि २ सय ग्राममात्र तौल रहेको भेटिएको छ ।  उपभोक्ताको अभिरुचीमा रहेको ‘गुडलाइफ’ बिस्कुटको तौल कम रहेको पाइएपछि पब्लिक फोरम नेपालले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ । 

OM Sai Pathibhara Hospital

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को २ को (क) मा बस्तु वा सेवाको वास्तविक गुणस्तर , परिमाण , मूल्य, नापतौल , ढाँचा वा बनावट आदी ढाँटि , लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेको खण्डमा अनुचित व्यापारिक तथा व्यवसाय जन्य क्रियाकलाप गरेको मानिने व्यवस्था गरिएको छ ।  

त्यस्तै , दफा १६ कै २ को (ख) मा झुटो वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरि बस्तु बिक्री गर्ने क्रियाकलाप गर्न नपाइने व्यवस्था समेत गरिएको छ भने दफा ४० को उपदफा ३ को (ख) मा सोही बमोजिमको कसुर गर्ने वा गराउनेलाई  उप ख० दफा ३८ दुई वर्ष देखि पाँच वर्षसम्म कैद वा चार लाख देखि ६ लाख रुपैयासम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।   

कारबाहीको माग राख्दै पब्लिक फोरमले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र नापतौल कार्यालय मोरङमा उजुरी दर्ता गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले बताएका छन् । कम तौल भएको बिस्कुट बजारमा बिक्री गर्दै खुलेआम ठगी गरेको पाएपछि फोरमले कम्पनीलाई उपभोक्ता संरक्षण ऐनअनुसार अधिकतम कारबाहीको माग गरेको समेत ढुङ्गेलले बताएका छन् । 

नापतौल कार्यालयले पनि बिस्कुटमा कम तौल भएको पुष्टि गरेको हुँदा उजुरी दर्ता भएपनि कम्पनीलाई कारबाहीको दायरामा ल्याउन नसके आन्दोलन गर्न समेत तयार रहेको ढुङ्गेलले जनाएका छन् । यता वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भने उजुरी दर्ता भएकोले घटनाको विषयमा अनुसन्धान गरी छिटै कारबाही अगाडि बढाउने बताएका छन् । 

यही कम्पनीले विगतमा पनि आफ्नो उत्पादन गुडलाइफ बिस्कुटमा उपभोक्तालाई असर पार्ने प्रकारको गुणस्तरहीन कच्चा पदार्थको प्रयोग गर्दै आएको विषय समेत सार्वजनिक भएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने गरेको उद्योग अनुगमनका क्रममा २३ बोरा ९५० (किलो तौलका) चिनी बरामद गरेर नष्ट गरिएको थियो ।