बिर्तामोड / निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।
निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगले मौन अवधिमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
थपलियाले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग आग्रह समेत गरेका छन् ।
थपलियाले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे ।