विराटनगर / मोरङको विराटनगर महानगरपालिका –९ स्थित अस्पताल चोकमा रहेका होटलमा सोमवार मध्यराति आगलागी हुँदा तीन जना कर्मचारी घाइते भएका छन् । 

आगो नियन्त्रणमा खटिएका विराटनगर –४ का ३७ वर्षीय भीम विष्ट, विराटनगर –२ का ३७ वर्षीय अशेष दाहाल र सुनसरी दुहवी –१२ का १९ वर्षीय प्रेमकुमार राजवंशी घाइते भएका हुन् ।

OM Sai Pathibhara Hospital

घाइते उनीहरूको म्याक्सल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार राति १२ः१५ बजेतिर शुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सक्रियतामा डेढ घण्टापछि १ : ४० मा नियन्त्रणमा लिइएको थियो । 

कुमारप्रसाद घिमिरेले सञ्चालन गरेको किराना पसल, विराटनगर –८ का छविलाल उप्रेतीको कपडा तथा भाँडा पसल, विराटनगर –७ का विनोद राजवंशीले सञ्चालन गरेको न्यू राजवंशी होटल र विराटनगर –८ का दीपनारायण राजवंशीले सञ्चालन गरेको दिपेश होटल आगोले ध्वस्त बनाएको छ । 

आगलागी हुँदा घिमिरेको पसलभित्र रहेको नगद ५ लाख जलेको छ भने पसलमा २० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीको भनाइ छ। 

डीएसपी श्रेष्ठका अनुसार आगलागीबाट उप्रेतीको पसलमा २५ लाख २७ हजार, विनोदको होटलमा १२ लाख र दीपनारायणको होटलमा ११ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। 

ग्यास सिलिन्डर विस्फोट हुँदा आगो फैलिएको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।