बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा बिर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल सञ्चालन गरी बसेका २८ वर्षीय सविन गोले तामाङ र आठराइ गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज सञ्चालन गरी बसेका २७ वर्षीय धन बिर बराल रहेका छन ।
सोमबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आँउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।