चितवन  / चितवनको राष्ट्रिय वन क्षेत्रमा छ महिनाभित्र ३१ वन्यजन्तु मरेका छन् । 

डिभिजन वन कार्यालयका अनुसार साउनदेखि हालसम्म विभिन्न क्षेत्रमा गैँडा, चितुवा, चित्तल, मृग र रतुवासहित ३१ वन्यजन्तु मरेका हुन् । 

OM Sai Pathibhara Hospital

भरतपुर महानगरपालिका –१६ मा एउटा गैँडा करेन्ट लागेर मरेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । 

खनालका अनुसार एउटा चितुवा, चितल र मृग २२ वटा, पाँचवटा बँदेल र दुई वटा रतुवा र मरेका हुन् । चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको हो भने, गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् । 

खनालका अनुसार ७० प्रतिशत वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेका छन् । वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुनसकेको छैन ।

जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए । तिनीहरूमा एउटा पाटेबाघ, नौ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो । 

यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन् । सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन । 

निकुञ्जको तथ्याङ्कअनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । 

गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ । खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको हो ।

सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र चार भाले चित्तल मरेका हुन् । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका हुन् । 

यसै गरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको तिवारीले जानकारी दिए ।

त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । 

एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन विभिन्न जनावर मरेको तिवारीले बताए ।