झापा / म्याग्दीको धवलागिरी गाउँपालिका – १ गुर्जामा गएको हिमपहिरोमा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता छन् । प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ ।
बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए ।
काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर बिहीबार फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।
उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजीका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पुर्याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।
करिब चार पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।
गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनको भनाइ छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ ।
पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्धार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।