काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
उक्त प्रणालीका कारण अहिले देशभर सामान्य देखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हलदेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आजदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ ।