बाँके / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको आभास गृहमा बस्दै आएका चार जनाको निसासिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
अस्पतालको क्वाटरमा बसेका कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालीकोटको खडाचक्र घर भएका २३ वर्षीय धनप्रसाद भट्टराई, उनकी आमा ५५ वर्षीया कोकिला भट्टराई, २२ वर्षीय दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
सँगै कोठामा रहेका अन्य तीन जना भट्टराईकी श्रीमती २२ वर्षीया सुशीला, ३ वर्षीय छोरा दिवस र १८ वर्षीय भाइ नरेश अचेत अवस्थामा थिए । उनीहरूको भेरीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अधिकारीले बताए
सुत्ने बेला उनीहरू कोइला बालेर सुतेको बढाइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
बिहीबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए ।