काठमाडौँ / पछिल्लो समय नेपाल पर्यटन बोर्डमाथि विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डसँग योजनाको फाइल मागेको छ ।
निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले बोर्डसँग केही योजनाको फाइल मागेको हो ।
सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना सञ्चालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेको जस्ता काममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ । पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ ।
पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौँ रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप रेग्मीमाथि छ ।