जुम्ला  / जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको र हिउँ परिरहेको स्थानीयले बताएका छन् । हिउँ परेपछि चिसो भने बढिरहेको छ । 

चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोक चोकमा आगो बालेको छ ।

OM Sai Pathibhara Hospital

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँका अनुसार हिमपातले अहिलेसम्म कतै असर नपुर्याएको र जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिकाको समन्वयमा दाउरा व्यवस्थापन गरिएको हो ।

सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो स्थानमा एक फिट हिउँ जमेको छ । उनका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन , कोलखोली, विमानस्थल लगायतका स्थानमा दाउरा वितरण गरी आगो बालेर न्यानो गर्ने काम भएको छ ।

यसैगरी, जिल्लाभर हिमपातको अवस्थाका विषयमा सूचना संकलन भइरहेको छ । हिमपातले सडक तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अत्यावश्यक सवारी साधनबाहेक अन्य साधनहरू नचलाउन सूचना प्रवाह गरिरहेको बताइएको छ । यस वर्ष पहिलो पटक हिउँ परेपछि कृषिबालीमा लाभ हुने बताइएको छ । 

हिउँले हिउँदे वालीलाई फाइदा पु¥याउने किसानहरू बताउँछन् । स्थानीय किसान सुलोचना हितानका अनुसार हिउँले पानीको समेत काम गर्ने भएकाले राम्रो हुने भएको बताए ।

हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ । लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरू, पशुचौपाया सबै घरभित्र बस्न बाध्य भएका छन् ।

जुम्लाको तापक्रम न्यूनतम माइनस ०.६ र अधिकतम ७.० रहेको जल तथा मौसमविज्ञान कार्यालय जुम्लाका कर्मचारी जमुना हमालले जानकारी दिए ।