काठमाडौं / मौसममा आएको बदलावका कारण काठमाडौँबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ ।
मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले हवाई उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ ।
त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । आजका लागि १३७ वटा उडान रहेको छ । तर, प्रतिकूल मौसमका लागि धमाधम उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ ।
यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, सुर्खेत, विराटनगर र भरतपुरमा उडान भइरहेको छ भने पोखरा र लुक्लामा भने उडान हुन नसकेको कार्यालयले जनाएको छ ।
यता, एयरलाइन्स कम्पनीहरूले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरू प्रभावित भएको सूचना जारी गरेका छन् ।