झापा / बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका – ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ ।
सिगास –८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन ।
ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।
गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ मा मृतावस्थामा फेला परेका थिए ।
टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।
पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ ।
प्रहरी निरीक्षक शाहीले भने, कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरूबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।
प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।