झापा / सिके राउत नेतृत्वको जनमत पार्टीले हड्ताल गरेपछि सिरहामा भोलि बेलुकीसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि नै निषेधाज्ञा लागू गरिएको हो ।

आज बेलुकी सात बजेसम्म निषेधाज्ञा रहन्छ भने भोलि बुधबार बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म फेरि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय सिरहाले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरेकोले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको भनाइ छ ।


प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए । बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आइतबारदेखि हड्ताल गरिरहेको छ। तर प्रहरीले भने पक्राउ गरिएकाहरू किसान नभएको दाबी गर्दै आएको छ ।