चितवन / जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

OM Sai Pathibhara Hospital

अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उनले जानकारी दिए ।

उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन् । 

दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली सङ्कलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन् । जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । 

अभियानकै क्रममा स्थायी बसोवास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली सङ्कलन गराउने ५७२ रहेका छन् । अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक/एक वटा दर्तास्थल राखिएको छ । 

जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए । 

कार्यालयका अनुसार अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।