कञ्चनपुर
/ बहुऔषधीय गुण भएका विजयसाल जोगाउनका लागि कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता
संरक्षणमा जुटेका छन् ।
लोपोन्मुख अवस्थामा पुगेका विजयसाल जोगाउनका लागि यहाँका सामुदायिक वनका उभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका हुन् । उपभोक्ताले वन क्षेत्रमा प्राकृतिकरुपमा रहेका रुखको संरक्षण गर्ने कार्यसँगै नयाँ बिरुवा उत्पादन गरी रोप्ने कार्य गर्दै आएका छन् ।
सामुदायिक वनले वन क्षेत्रमा नमूना प्लट निर्माण गरी विजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताएका छन् । उनका अनुसार कृष्णपुर नगरपालिकास्थित जयलक्ष्मी सामुदयिक वनले १५ हेक्टर, जनहित महाकालीले २५ हेक्टर, समैजी सामुदायिक वनले २२ हेक्टर, दिपेन्द्र स्मृति सामुदायिक वनले पाँच हेक्टर क्षेत्रफलमा विजयसालका नमूना प्लट निर्माण गरेका छन् ।
प्राकृतिकरुपमा वन क्षेत्रमा रहेका विजयसालका रुख र बिरुवा जोगाउनका लागि अन्य सामुदायिक वनलेसमेत संरक्षणमा उत्तिकै चासो राखेका छन् । “सामुदायिक वनमा अहिले विजयसालका बिरुवा हुर्कंदै जान थालेका छन्”, उनि भन्छन्, “वन क्षेत्रमा देखिन छाडेका विजयसाल पुनः उत्पादन हुन थालेको छ । जसबाट वन संरक्षणकर्मी उत्साहित भएका छन्।” विजयसाल संरक्षणमा टेवा पुर्याउनका लागि सामुदायिक वनमा खुला चरिचरन पूर्णरुपमा निषेध गरिएको छ ।
“चरिचरन निषेध गरिएपछि विजयसाललगायत बहुमूल्य
जडीबुटी र बिरुवा जोगिएका छन्”, महाकाली
जनहित सामुदायिक वनका अध्यक्ष हरिराम डगौरा भन्छन्, “पुरानै अवस्थामा वन क्षेत्रलाई हराभरा बनाउन
पाउँदा संरक्षणको कार्यमा उत्साह थपिएको छ।” विजयसाल तराईको कञ्चनपुरदेखि कपिलवस्तुसम्म
वर्षौं पहिलेसम्म पाइने गरेको थियो ।
हाल विजयसाल सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्रै पाइने गरेको छ । विजयसाल लोपोन्मुख अवस्थामा पुगेपछि विसं २०६४ देखि यहाँका सामुदायिक वनले संरक्षणको कार्यलाई अगाडि बढाएका हुन् । एउटा सामुदायिक वनबाट थालिएको विजयसाल जोगाउने अभियान हाल २५ बढी सामुदायिक वनसम्म पुगेको छ ।
विजयसाल जोगाउन सामुदायिक वनका पदाधिकारी र उपभोक्ताले संरक्षणको कार्यसँगै पुनःउत्पादन, वृक्षरोपणको कार्यलाई अगाडि बढाउँदै आएका छन् । यससँगै विजयसालको औषधीय गुणका बारेमा जनचेतनाका माध्यमबाट जानकारी दिइ संरक्षणका कार्यलाई अगाडि बढाइँदै आएको जयलक्ष्मी सामुदायिक वनका अध्यक्ष लीलादेवी चौधरीले बताएका छन् ।
“विगतमा विजयसालको महत्व थाहा नपाउँदा गाईबस्तुका लागि खुवाउनका लागि रुख नै काट्ने कार्य गरिँदै आएको थियो”, उनि भन्छन्, “गाईगोरुले विजयसालको घाँस निकै मन पराउने हुँदा रुख नै विनाश भए ।” परम्परागतरुपमा विजयसाल औषधिका रुपमा प्रयोग हुदैं आएको भए पनि त्यसलाई महत्व नदिँदा लोपोन्मुख अवस्थामा पुर्याईएको उनले बताएका छन्। “हाल यसको महत्व बुझ्यौँ”, उनले भन्छन्, “संरक्षण गर्दै आएका छौँ । विजयसालका माउ रुखबाट बीउ सङ्कलन गरी नर्सरी बनाई बिरुवासमेत उत्पादन गरी अन्य सामुदायिक वनमा रोप्नका लागि उपलब्ध गराउने कार्यसमेत हुँदै आएको छ ।”
औषधीय प्रयोग
विजयसाल मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका रोग, आँखाको सङ्क्रमण, हात्तीपाइले रोग, पखाला, ग्याष्ट्रिकका कारणले मुटु पोल्नेलगायतका रोगको उपचारमा परम्परागतकालदेखि प्रयोग हुँदै आएको छ ।
यसका अतिरिक्त रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको काठलाई पानीमा रातभरि भिजाउँदा प्राप्त हुने पानी सेवन गरिन्छ । दाँत दुख्दा यसको बोक्रा दलिन्छ । फोडा–फुन्सी, घाउ र चर्मरोगमा यसको पातको रस दलिन्छ । चरक संहितामा समेत विजयसालको काठबाट दन्तमञ्जन गर्दा दात, छाला र आँतसम्बन्धी रोगबाट मुक्ति पाइने कुरा उल्लेख गरिएको छ ।
मायाको चिनो
विजयसालका भाँडाकुँडा उपहारका रुपमा दिने चलनसमेत शुरु भएको छ । सभा समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र आफन्त इष्टमित्रलाई विशेष अवसरमा उपहारका रुपमा विजयसालको काठबाट बनेका कचौरा, गिलास र अम्खोरा उपहारका रुपमा दिने गरिँदै आएको छ। विजयसालको काठबाट बनेका भाडामा राखेको पानी पिउनाले विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वासका कारण यसको प्रचलन एक दशक यतादेखि बढ्दोरुपमा रहेको छ ।
विजयसाल ओसापसारमा भने कञ्चनपुरमा प्रतिबन्ध लगाइएको छ । लोपोन्मुख अवस्थामा पुगेको वनस्पति भएकाले यसको संरक्षणमा जोड दिनका लागि विजयसालको काठ बाह्य क्षेत्रमा ओसारपसार र बिक्रीवितरणमा रोक लगाइएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताएका छन् । उनिका अनुसार ढलपडा रुख भने सामुदायिक वनले सङ्कलन गरी उपभोक्तालाई बिक्री गर्दै आएका छन् ।
विजयसाल
औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पतिका रुपमा रहेको छ । विजयसालको वैज्ञानिक नाम टेरोकार्पस मार्सुपियम
रहेको छ । अङ्ग्रेजीमा यस रुखलाई इण्डियन कीनो ट्री भन्ने गरिन्छ । यो रुख
प्रजातिको वनस्पति समुन्द्री सतहदेखि एक हजार मिटरदेखि एक हजार ४०० मिटरको
उचाइसम्म पाइने गरिन्छ । नेपालसहित भारत, श्रीलङ्का लगायतमा
विजयसाल पाइन्छ ।